वडाले प्रस्ताव गरेको योजना सम्बोधन गर्न माग

 

तनहुँ समाचारदाता

दमौली , असार २७ गते । तनहुँको भिमाद नगरपालिका नगरपालिकाले वडा समितिलाई झुक्याएर मनोमानी ढङ्गबाट योजना प्रस्ताव गर्ने तयारी गरेको भन्दै चार वटा वडाबाट विरोध भएको छ । विरोध गर्ने वडाहरुमा नम्बर ३, ४, ५ र ६ रहेको छ । त्यस वडाका वडाध्याध्यक्ष तथा सदस्यहरुले वडा कार्यालयले प्रस्ताव गरेको योजनाको सम्बोधन गर्न माग गरेका छन् । नगरपालिकाले वडाका टोल विकास संस्था तथा वडा कार्यालयबाट छलफल गरि छनौट गरिएका योजना मात्रै समेट्न वडाध्यक्ष तथा सदस्यहरुले माग रहेको छ ।

टोल विकास संस्थामा छलफल गरी वडाले छनौट गरी सिफारिस गरिएका योजना नसमेटि बजेट पारित गर्न लागेको भन्दै भिमाद ३, ४, ५ र ६ का वडा अध्यक्ष लगायत सदस्यहरुले आपत्ति प्रकट गरेका छन् । उनीहरुले निश्चित बजेट सिलिङ्गमा वडा समितिले तोक्न पाउनुपर्ने, टोल विकास संस्थाको छलफल भई वडाबाट सिफारिस भएका योजनाहरुका लागि मात्रै बजेट विनियोजना गर्नुपर्ने उनीहरुको माग छ । त्यस्तै कार्यपालिकाको छलफलबाट टुङ्गिएको योजना फेरबदल गरिएकोमा उक्त थपघट गरिएको बजेट हटाउनुपर्ने र मागका विषयमा छलफल गरी टुङ्गो नलागेसम्म नगरसभा स्थगित गर्न माग गरिएको छ ।

भिमाद नगरपालिका ३ का वडाध्यक्ष भूपेन्द्र मल्ल, ४ का वडाध्यक्ष डम्बरबहादुर राना, ५ का वडाध्यक्ष पदमबहादुर थापा र ६ का वडाध्यक्ष श्यामसुन्दर जोशी तथा वडा सदस्यहरु सिता कुमाल, धनिमाया थापा, यम्मर बहादुर गुरुङ्ग लगायतका वडा सदस्यहरुद्वारा हस्ताक्षरित माग पत्रमा विभेद गरी योजना पारित गरेर बजेट पारित गर्न लागिएको प्रति आपत्ति जनाईएको छ ।

Back to top button