शिक्षक सेवा आयोगको फर्म भर्ने क्रममा तनाव हुँदा भीड नियन्त्रयमा प्रहरी परिचालन

रमेश खडका

बेरोजगारी समस्या बढेसंगै निकै लामो समयपछि खुलेको शिक्षक सेवा आयोगमा फर्म भर्नेको भीड चर्को रहेको छ । यसै क्रममा गोरखामा भीड बढेपछि स्थिति केही समय तनावग्रस्त हुँदा प्रहरीको सहयोग लिनुपर्ने अवस्था आयो । फर्म भर्ने क्रममा लाइन लामो समय बस्नुपर्ने बाध्यता हुँदा एउटै फर्म बुझाउन पनि २ /३ दिन लाग्ने गरेको छ । गोरखाको शिक्षा विकास तथा समन्वय इकाइमा अहिले गोरखा भन्दा पनि बाहिरी जिल्लाबाट आउनेको संख्या बढी रहेको छ ।
दलित, मधेशी तथा पिछडिएका लगायतका कोटामा फर्म भर्न पाउने भएपछि अन्य जिल्लाबाट यहाँ फर्म भर्न आउनेको संख्या बढेको हो । शिक्षक सेवा आयोगले लिन लागेको परिक्षाका लागि फारम भर्नेको घुइँचो लागेको छ । प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी ३ सय ७८ सिटका लागि मंगलबारसम्म झण्डै ४ हजारको आवेदन परेको जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईले जानकारी

दिएको छ ।

लामो समयपछि शिक्षक सेवा आयोगको परिक्षा हुन लागेकाले परिक्षार्थीहरुको घुइँचो लागेको हो । सरकारले प्राथमिक तहका लागि अन्तिम पटक आवेदन खुलाएको बताएको छ ।

सोही कारण परी फारम भर्नेहरु बढेको हुन सक्ने कतिपयको भनाई छ । फारम भर्ने तौर तरिका बैज्ञानिक नहुँदा दुई दिन सम्म लाइन बस्नु पर्ने बाध्यता रहेको फारम भर्न आएकाहरुले बताएका छन् । गोरखामा धेरै कोटामा आवेदन माग भएपछि देशका विभिन्न ठाउँबाट परिक्षार्थीहरु फारम भर्न आएका छन् ।

मधेशी कोटामा तथा पिछडीएको क्षेत्रका कोटाहरुमा फारम भर्न टाढा-टाढा बाट परिक्षार्थी गोरखा आएका छन् । परिक्षाको फारम भर्ने मिति यहि ३० गते सकिने र केही दिन दोब्बर शुल्कमा फारम भर्न पाइने कार्यालयले जनाएको छ ।

Back to top button