
असार १६, २०७५
जिल्ला कृषि विकास कार्यालय रसुवाले कृषकहरुलाई निशुल्क रुपमा १३ हजार वटा बर्खे फलफूलको बिरुवा वितरण गरेको छ । कार्यालयले गत वर्ष बर्खामा आएको बाढी तथा पहिरोमा परि बीउ बिजन तथा अन्नपात गुमाएका कृषकलाई फलफूलको बिरुवा वितरण गरेको हो । कृषि विकास रणनीति अनुगमन तथा समन्वय (बाढी तथा पहिरोमा पीडित राहात) कार्यक्रम अन्र्तगत निशुल्क बर्खे फलफूलको बिरुवा वितरण गरिएको कार्यालयका बागबानी विकास अधिकृत सन्तोष पाठकले बताउनुभयो । जिल्लाका तीन गाउँपालिकाका ३ सय ८ जना कृषहरुलाई १२ हजार ९ सय फलफूलको बिरुवा वितरण गरिएको कार्यालयले जनाएको । बाढी पहिरो पीडितहरुको लागि आएको राहत कार्यक्रम अन्तरगत जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाका कृषकलाई फलफूलका बिरुवा वितरण गरिएको कार्यालयका बागबानी विकास अधिकृत पाठकले बताउनुभयो । नौकुण्ड गाउँपालिकामा १ सय २ जना कृषकहरुलाई ४ हजार अलैंची र १ हजार कागतीको बिरुवा वितरण गरिएको छ । कालिका गाउँपालिकामा १ सय २४ जना कृषकहरुलाई २ हजार ५ सय कागती, ८ सय सुन्तला, ४ सय आंपको बिरुवा वितरण गरिएको पठकले जानकारी दिनुभयो । त्यस्तै उत्तरगया गाउपाँलिकामा ८२ जना कृषकलाई १ हजार ५ सय कागती, ३ सय सुन्तला, २ सय आंप र २ सय ५० वटा लिचिको बिरुवा वितरण गरिएको हो । गत बर्खामा आएको बाढी तथा पहिरोले जिल्लाको दक्षिण भेगका धेरै जना कृषकहरुले लगाएको बीउ बिजन तथा अन्नपात बगाएको थियो । फलफूल विकास निर्देशनालयले तोकेको विभिन्न नर्सरी तथा स्रोत केन्द्रबाट ल्याएर बर्खे बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।