नौ बुँदे घोषणापत्र जारी गर्दै अकोराब प्रदेश नम्बर ४ को साधारणसभा सकियो ।।

 

बन्दिपुर, जेष्ठ २५ गते । बन्दीपुर घोषणा पत्र जारी गर्दै तनहुँको बन्दीपुरमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब प्रदेश ४ को प्रथम साधारणसभा सम्पन्न भएको छ । हिजो र आज दुई दिनसम्म चलेको साधारणसभाले जारी गरेको घोषणा पत्रमा लोककल्याणकारी विज्ञापन समानुपातिक ढंगले वितरण गर्न माग गरिएको छ । घोषणापत्रले सरकारको दोहोरो कर प्रणाली हटाउन तीनै तहसँग माग गर्दै स्थानीय सञ्चार नीतिको मस्यौदामा सामुदायिक रेडियोका प्रतिनिधिलाई समेत राख्नका लागि माग गरेको छ । साधारणसभामा सहभागी रेडियोहरुले घोषणापत्रमार्फत स्थानीय सरकारसँग सहकार्य गर्दै विकासका साझेदार र सामाजिक विसंगतिविरुद्ध संयुक्त अभियान थाल्ने उद्घोष गरेका छन् । प्रदेशका रेडियोहरुले स्थानीय कला, भाषा र संस्कृतिको प्रचारका लागि कार्यक्रम निर्माण गर्दै एक अर्कासँग आदानप्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । साधारणसभाको उद्घाटन काँग्रेसका बरिष्ठ नेता, रामचन्द्र पौडेलले गर्नुभएको थियो । उहाँले देशमा सूचना तथा सञ्चारका क्षेत्रमा सामुदायिक रेडियोको भूमिका बढि भएको बताउनुभयो । सामाजिक रुपान्तरणमा सामुदायिक रेडियोले स्थानीयस्तरमा धेरै भूमिका खेलेको दाबी गर्दै पौडेलले सरकारले रेडियो खोल्ने कुराको बिरोध गर्नुभयो । प्रदेश सांसद सरिता गुरुङले पहुँच र प्रभावका हिसाबले सामुदायिक रेडियोले सामाजिक रुपान्तरणमा धेरै भूमिका खेलिरहेको बताउनुभयो । सामुदायिक रेडियो प्रसारक संघ अकोराबका केन्द्रीय अध्यक्ष सुवास खतिवडाले सामाजिक कूरीति नियन्त्रणमा सामुदायिक रेडियोको भूमिका अतुलनीय भएको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, अकोराबका सल्लाहकार किशोरजंग थापा, बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, पत्रकार महासंघका प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, अकोराबका प्रदेश नम्बर ४ का उपाध्यक्ष ओमकार आचार्य, कोषाध्यक्ष पवन पौडेल लगायतले सामुदायिक रेडियोको योगदानको राज्यबाट कदर हुनुपर्ने बताउनुभयो । साधारणसभाको बन्दसत्रले सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

Back to top button