राजपाल यादवलाई ६ महिनाको जेल सजाय र करोडौं जरिवाना

मुम्बइ, ११ वैशाख।

बलिउड अभिनेता राजपाल यादवलाई दिल्लीको एक अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ । उनकी पत्नी भने जरिवाना मात्र तिरेर छुट्ने भएकी छिन् । चेक बाउन्सका ७ मुद्दामा अदालतले उनलाई दोषी ठहर गर्दै ६–६ महिनाको जेल सजाय सुनाएको हो । यससँगै प्रति बाउन्स चेकको लागि १ करोड ६० लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने सजाय सुनाइएको छ ।

यस मुद्दामा अदालतले उनकी पत्नीलाई समेत दोषी ठहर गर्दै प्रत्येक मुद्दामा १०–१० लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ । राजपालले दिल्लीको उक कम्पनीसँग ५ करोड ऋण लिएका थिए । सोही ऋण तिर्न नसकेपछि उनीविरुद्ध मुद्दा दायर भएको थियो । अदालतको आदेशअनुसार राजपालले अब ५ करोड ऋण लिएकोमा ११ करोड २० लाख र उनकी पत्नीले ७० लाख जरिवाना तिर्नुपर्नेछ ।

मुद्दामा फैसला सुनाइएको केही बेरमै राजपालले जमानत भने पाएका छन् । उनलाई प्रत्येक मुद्दामा ५० हजारको दरले ७ मुद्दामा साढे ३ लाख जमानतमा तत्कालको लागि रिहा गरिएको छ । राजपालले आफूले पैसा लिएर विस्तारै फिर्ता गरिरहेको र आफू नभागेको भन्दै फैसलाविरुद्ध हाइकोर्टमा अपिल गर्ने बताएका छन् । राजपालले ५ करोडमध्ये १ करोड ९८ लाख फिर्ता गरिसकेको बताइएको छ ।

Back to top button