बुडापेस्ट, ९ वैशाख ।
हंगेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानविरुद्ध राजधानी बुडापेस्टमा शनिबार दोस्रो वृहत प्रदर्शन भएको छ ।
लगातारको तेस्रो निर्वाचनबाट पनि यही अप्रिल ८ मा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका ओर्बान विरुद्ध गत एक हप्तादेखि प्रदर्शन भइरहेको छ ।
उनीहरुले संसद् भवन अगाडि प्रदर्शन गर्दै सहरभित्र ¥याली पनि निकालेका थिए । स्वतन्त्ररुपमा नागरिकले विरोध कार्यक्रमको आयोजना गरेका हुन् ।
प्रदर्शनकारीले अघिल्लो हप्ता नयाँ निर्वाचनको माग गरेका थिए । उनीहरुले विपक्षी दलहरुकाबीचमा सहकार्य गर्न पनि आग्रह गरेका छन् ।
प्रदर्शनकारीमध्ये एक जना बालाज गुलीसले नागरिकको तर्फबाट विरोध कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँले विरोध कार्यक्रममा स्वतन्त्र न्यायाधिश र स्थानीय अधिकारी पनि सहभागी भएको बताउनुभयो ।
निर्वाचनले हंगेरीका अनुदारवादी प्रधानमन्त्रीलाई अत्याधिक मतका साथ विजयी गराएको छ । उहाँको गठबन्धनले संसद्को १९९ सिटमा १३३ सिट जितेको थियो ।
प्रधानमन्त्री विरुद्धको आन्दोलनका बारेमा अहिलेसम्म पनि कुनै प्रतिक्रिया आएको छैन ।
प्रदर्शनकारीले तेस्रो बृहत प्रदर्शन आउदो मे ८ तारिखका दिन गर्ने तय गरेका छन् । नव गठित संसद्को पहिलो बैठक बस्ने मौका पारेर उनीहरुले प्रदर्शनको तयारी गरेका हुन् ।