राति देखि बन्द भएकाे त्रिभुवन विमानस्थल पूर्ण रुपमा सुचारु

काठमाडौं, ७ बैशाख ।

मालिन्दो एयरको विमान दुर्घटनामा परेपछि करिब १४ घण्टा अबरुद्ध भएको त्रिभुवन विमानस्थल अहिले पूर्ण रुपमा सुचारु भएको छ । अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फको उडान सञ्चालनमा आएको विमानस्थलले जनाएको छ । विमानस्थल सञ्चालनमा आए पनि अलपत्र परेका यात्रुहरुले राहत महसुस गरेका छन् ।

विमानस्थल बन्द हुँदा विश्वका विभिन्न ठाउँबाट आएका विमानहरुलाई समेत डाइभर्ट गरेर भारत पठाइएको थियो ।

मलेसियाको क्वालालाम्पुरका लागि उड्न लागेको विमान राति सवा १० बजे धावन मार्गबाट चिप्लिएर घाँसे चौरमा धस्सिएपछि विमानस्थलको उडान अवतरण अवरुद्ध भएको थियो । करिब १२ घण्टाको अवरोधपछि बिहान १० बजेबाट आन्तरिकतर्फको उडान अवतरण सञ्चालनमा आएकोमा १२ बजेदेखि अन्तराष्ट्रिय उडानसमेत सञ्चालन आएको हो ।

घाँसे चौरमा धस्सिएको जहाजलाई त्यहाँबाट हटाएर पार्किङमा लगेपछि विमानस्थल सञ्चालनमा ल्याएको हो ।

१३९ यात्रु लिएर क्वालालाम्पुर उड्न लागेको जहाज धावनमार्गबाट चिप्लिएर घाँसे चौरमा गएर धस्सिएको थियो । दुर्घटना परेको जहाजका सबै यात्रु सकुशल छन् ।

Back to top button