काठमाडौँ, ६ वैशाख ।
विश्व सम्पदा उत्सव मूल समारोह समितिले मुलुकमा रहेका मानव निर्मित तथा प्राकृतिक रुपमा विकास भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत विषयवस्तुका आधारमा तयार गरिएका टिकटको प्रदर्शनी गरेको छ ।
विश्व सम्पदा दिवसको सन्दर्भ पारेर काष्ठमण्डप क्षेत्रमा आयोजना गरिएको एक दिवसीय उक्त प्रदर्शनीमा नौ फ्रेम टिकट राखिएको छ । एउटा फ्रेममा १६ पेज छन् ।
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कार्यक्रमको उद्घाटन गर्दै विश्व सम्पदा तथा त्यस आसपास क्षेत्र समेटिएका टिकटले मुलुकलाई देश विदेशमा प्रवद्र्धन गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समयमा सूचना प्रविधिमा भएको विकासका कारण हुलाक सेवाको कार्य प्रभावकारी रुपमा अगाडि बड्न नसकेको उहाँको भनाइ थियो ।
उक्त कार्यक्रममा मन्त्री बाँस्कोटाले हनुमानढोका दरबार क्षेत्रलाई समेटिएको हुलाक टिकटमा टाँचा लगाउनुभयो ।
प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ, प्रदेश सांसद राजेश शाक्य, हुलाक सेवा विभागका निमित्त महानिर्देशक राजन पौडेल, फिलाटेलिक सोसाइटीका अध्यक्ष शंकर श्रेष्ठ, कार्यक्रम आयोजक समितिका सचिव डिल्लीरत्न तुलाधरलगायतले ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदास्थलबारे देश विदेशमा जानकारी दिन हुलाक टिकटको महत्व रहेको विचार व्यक्त गर्नुभयो ।
काठमाडौँ उपत्यकाका तीनवटा दरबार, स्वयम्भूनाथ चैत्य, बौद्धनाथ चैत्य, पशुपतिनाथ मन्दिर र चाँगुनारायण मन्दिर सांस्कृतिक रुपमा तथा सोलुखुम्बुमा अवस्थित सगरमाथा राष्ट्रिय निकुञ्ज, गौतम बुद्धको जन्मस्थल लुम्बिनी र चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदामा सूचीकृत छन् । रासस