निर्णायक वार्ताका लागि सुकुटेबाट प्रचण्ड एकाएक बालुवाटारमा

काठमाडौँ, ३ वैशाख  । 

मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी एकीकरणका विषयमा गम्भीर छलफल गर्न नेकपा (एमाले)ले स्थायी समितिको बैठक बोलाएको छ । बैठक प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा अपरान्ह ५ बजे बस्नेछ । बैठकमा माओवादी केन्द्रसँग अहिलेसम्म भएको पार्टी एकीकरण प्रक्रिया र प्रगतिका विषयमा छलफल हुनेछ । एमालेले अचानक बोलाएको स्थायी समितिको बैठकमा विशेष गरेर एमाले–माओवादी केन्द्रबीचको सम्बन्धका विषयमा छलफल हुने उच्च स्रोतले जनाएको छ । त्यस्तै स्थायी समितिको बैठक अघि राजनीतिक तनाववाट ‘रिफ्रेस’ हुन सुकुटे पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि आज वार्ता हुँदैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दश बजे ओली–दाहालबीच वार्ता हुन लागेको हो । ओलीसँगको वार्ताका लागि दाहाल सिकुटेबाट सिधै बालुवाटार जना लागेका हुन् ।यसअघि आइतबार ओली र दाहालबीच भेट हुने भनिए पनि अन्तिम समयमा वार्ता रोकिएको थियो । दाहाल सिन्धुपाल्चोकको सिकुटे रिसोर्टमा आराम गर्न गएका थिए । ओली भने दाहाललाई कुरेर बालुवाटारमा बसेका थिए । दोस्रो तहका नेताहरूको दवावपछि ओली र दाहालवीच आज पुनः वार्ता हुन लागेको हो । दाहालले पार्टी एकीकरणमा ५०–५० प्रतिशतको भागबण्डाको कुरा अगाडि सारेपछि एमालेले सो प्रस्तावलाई अस्वीकार गर्दै आएको छ । दुई शीर्ष नेताको वार्ताका क्रममा ‘ब्रेक थ्रु’ हुने सम्भावना रहेको उच्च स्रोतले बताएको छ।

Back to top button