पत्रकारलाई गोली ठोक्छु भन्ने महाशाखाका सई बालकृष्ण सञ्जेल सनम हत्या काण्डका मुख्य योजनाकार, २ करोड रुपैयाँको सेटिङ्ग

काठमाडौं, ३० चैत  ।

सन्दिप योगी, ५ नंबर प्रदेश,बाँके(नेपालगन्ज) काठमाडौंमा पत्रकारलाई गोली ठोक्छु भन्ने महानगरीय प्रहरी अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलका कारण सिंगो प्रहरी संगठन बदनाम भएको थियो । तत्कालिन आइजीपी प्रहरी महानिरिक्षक प्रकाश अर्यालको नेतृत्वमा चलिरहेको प्रहरी संगठनका एक जना कनिष्ठ दर्जाका सइ(प्रहरी नायव निरिक्षक) बालकृष्ण सञ्जेल जो महानगरीय प्रहरी अपराध महासाखामा लामो समयदेखी सेटिङ्को आधारमा टिकेर बसेका थिए उनले अनुसन्धान मुलक खोज पत्रकारीता गर्ने राष्ट्रिय सुरक्षा बिटमा काम गर्ने पत्रकारहरुले अनुसन्धान गरेर समाचार लेखेकै कारण गोली ठोक्छु भनेर धम्क्याउँदा चुप्प बसेको तत्कालिन नेतृत्वले कुनै कदम चालेन । अपराध अनुसन्धानमा प्रहरीले कसरी चलखेल गर्छ भन्ने कुरा सनम शाक्य हत्या प्रकरणले बाहिर ल्याएको छ ।

हत्याका मुख्य आरोपी तथा सुन तस्करहरुलाई जोगाएर प्रहरीले उक्त घटनामा करोडौंको ‘डिल’ गरेको रहस्य खुलेको छ ।
गृह मन्त्रालयले छानबिन समिति गठन गरेपछि सो घटनामा भएका डरलाग्दा पाटाहरु बाहिर आउन थालेका छन् । जसमा राज्यका धेरै निकायहरु संलग्न रहेका खुलेको छ । घटनाले सिंगो प्रहरी नै बदनाम बनेको छ ।

रहस्यमय अप्रेसन

गत फागुन १८ गते तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा मोरङ उर्लाबारी घर भएका सनम शाक्यको हत्या भएको थियो । लुकाएको सुन बारे भित्री कुरा खोल्ने आशंकामा तस्करहरुले उनलाई बन्धक बनाएर करेन्ट लगाएका थिए । जसक्रममा उनको मृत्यु भयो ।
उनको शवलाई चार कोशे झाँडिमा गाड्न लैजाने क्रममा अपराध महाशाखाका खटिएको प्रहरी टोलीले विराटनगरमा बरामद गरी तीन जनालाई पक्राउ गरेको थियो । शव गाड्न लैजादा लैजादै प्रहरीले बरामद गरेर अभियुक्तलाई पक्राउ गर्नुलाई धेरैले प्रहरीको प्रशंसा गरेका थिए । तर, खासमा त्यसभित्र ठुलो षड्यन्त्र लुकेको थियो । आफुहरु जोगिन सुन तस्करहरुले नै अपराध महाशाखाका प्रहरीलाई प्रयोग गरेका थिए । सोही कारण प्रहरीले ४ जनालाई पक्राउ ग¥यो भने अरुलाई पक्राउ गर्न चासो दिएन । तस्करीको सुन खोज्न समेत चासो दिएको थिएन । जसमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल समेत जानकार थिए । तर उनले पनि तस्कर नखोज्ने अपराध महाशाखालाई साथ दिएपछि घटना झनै रहस्यमय बनेको हो ।
विमानस्थलबाटै तस्करी
तस्करीको ३३ किलो सुन प्रहरीले अझै बरामद गर्न सकेको छैन । तर, सो सुन विमानस्थलबाटै सेटिङमा तस्करी भएको पुष्टि भएको छ । घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल संयोजकत्वको छानबिन समितिले विमानस्थलबाटै सुन तस्करी भएको पुष्टि गर्दै थाई एयरलाइन्सका ९ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
स्रोतका अनुसार पटक पटक गरी सो समूहले विमानस्थलबाट सुन पास गराउदै आएको थियो । जसमा प्रहरीको पनि संलग्नता आशंका गरिएको छ ।
सोही कुरा थाहा पाएपछि गृहमन्त्री रामबहादुर थापाले गत साता विमानस्थलबाट टनका टन सुन तस्करी भइरहेको बताएका थिए । विमानस्थलबाटै सुन तस्करी भएको खुलेपछि गृहले सहसचिवकै नेतृत्वमा छानबिन समिति गठन गरेको हो । सुरुमा डिआईजी पुष्कल रेग्मीको संयोजकत्वमा समिति बनेको थियो । समितिले विमानस्थलबाट हुने तस्करीको नेक्सस खोजिरहेको छ ।
विवादास्पद सईका कारण सिंगो प्रहरी बदनाम
लामो समयदेखि अपराध महाशाखामा कार्यरत एक विवादास्पद प्रहरीको कारण महाशाखा मात्र होइन सिंगो प्रहरी नै बदनाम हुन पुगेको छ । गुन्डा र तस्करहरुलाई हाकिमहरुसँग सेटिङ मिलाएर फाइदा लिदै आएका महाशाखाका सई बालकृष्ण सञ्जेलका कारण यतिबेला सिंगो प्रहरी बदनाम भएको हो । शाक्य हत्या प्रकरणका योजनाकार पनि उनी नै भएको स्रोत बताउँछ ।
भरियाका रुपमा प्रयोग गरिएका शाक्यको हत्यामा संलग्न सुन तस्करलाई सघाएको आरोपमा महाशाखाका एसएसपी दिवेश लाहेनीसहित तीन प्रहरीलाई हटाइएको छ ।

गृह मन्त्रालयका सहसचिव पौडेल संयोजकत्वको छानबिन समितिको सिफारीसमा एसएसपी लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई हटाइएको हो । प्रमाण लुकाउन सक्ने भएकाले उनीहरुलाई त्यहाँबाट हटाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
गत महिना तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा शाक्यको हत्या भएको थियो । हत्यामा संलग्न सुन तस्कर गोरे भनिने चुणामणि उप्रेती फरार छन् । प्रहरीले उप्रेतीलाई जोगाएको र पीडितहरुलाई थुनेको उजुरीका आधारमा गृह मन्त्रालयले छानबिन थालेको थियो । मन्त्रिपरिषद्को बैठकमा समेत यो विषयमा छलफल भएको थियो ।

छलफलको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरोपी जुनसुकै दर्जा अथवा तहको भए पनि कठोर कारबाही गर्न निर्देशन दिएपछि गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरिएको थियो ।

‘सङ्गठित अपराध निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७०’ को ‘दफा १२’ बमोजिम गठित ९ सदस्यीय उक्त टोलीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका उपसचिव भावेश्वर पाण्डे, कानुन अधिकृत भोजराज दाहाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता हरि रेग्मी, नेपाल प्रहरीका एसएसपी बसन्तकुमार लामा, डीएसपी सुदीपराज पाठक, इन्स्पेक्टर भीष्म हुमागाईं र सई सुमन कार्की सदस्य छन् ।

एसएसपी लामा, डीएसपी पाठक र इन्स्पेक्टर हुमागाईं यस अगाडि प्रहरी मुख्यालयले गठन गरेको छानबिन समितिमा पनि सदस्य थिए ।

उक्त अनुसन्धान टोलीले मंगलबार र बुधबार एसएसपी लोहनीसहित ४ प्रहरी कर्मचारीको गृह मन्त्रालयमा बोलाएर बयान लिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा अपराध महाशाखाका प्रहरी अधिकारीहरुको भूमिका शंकास्पद देखिएपछि गृहसचिव स्तरीय निर्णयबाट एसएसपी लोहनी, डीएसपी केसी र सई सञ्जेललाई जिम्मेवारीबाट हटाएर प्रहरी मुख्यालयमा हाजिर गराई अनुसन्धानमा सहयोग गर्न भन्दै पत्राचार गरिएको थियो ।

गृहको पत्राचारपछि पनि आईजीपी प्रकाश अर्यालले लोहनीलाई बचाएर तल्लो दर्जाको प्रहरी कर्मचारीलाई मात्र फसाउने नियत राखेका कारण गृहको उक्त निर्णय ढिलो गरी कार्यान्वयन भएको हो ।

एसएसपी लोहनी, डीएसपी केसी र सई सञ्जेलले तस्करी गरेर ल्याएको सुन आधा (साँढे १६ किलो) पाउने लोभमा सनमको हत्यापछि ‘शव व्यवस्थापन’को जिम्मा लिएको छानबिन समितिको निष्कर्ष छ ।

लामो समयदेखि महाशाखामा कार्यरत सई सञ्जलको उप्रेतीसँग हिमचिम थियो । सोही कारण उप्रेतीले सो घटनाको जानकारी महाशाखालाई दिएर आफु अनुकुल अनुसन्धान गराउन खोजेका थिए । सोही अनुसार महाशाखाको टोली विराटनगर गएर शाक्यको शव बरामद गरेको थियो ।
विगतमा स्वच्छ छवि भनेर चिनिएका एसएसपी लोहनीको करिअर पनि यो घटनाले चौपट बनाइदिएको छ। यो प्रकरणमा उनी मातहतका प्रहरीलाई विश्वास गर्दा उनी फसे वा नियोजित रुपमै उनको पनि मिलेमतो थियो प्रष्ट भइसकेको छैन । तर यति संवेदनशील विषयमा महाशाखाले हचुवाको भरमा अनुसन्धान गर्ने तथा हत्याका योजनाकार नखोज्नुले उनीमाथि पनि शंका गर्ने ठाउँ प्रशस्त छ । सो प्रकरणमा जोडिएका डिएसपी प्रजित केसी पनि चलखेलवाला प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । विगतमा पनि उनी यस्ता धेरै डिलमा संलग्न भएका थिए ।

स्रोतका अनुसार उप्रेतीले सञ्जेललाई सो घटना सेटल गरिदिए २ करोड रुपैयाँ दिने आश्वासन दिएका थिए । जुन कुरा एसएसपी लोहनीदेखि आईजिपी प्रकाश अर्याललाई समेत पहिलै थाहा थियो । जसकारण सिंगो प्रहरी नेतृत्व नै मिलेर यो घटनामा चलखेल गरेको आशंका समेत गरिएको छ ।
शाक्य हत्या प्रकरणमा पक्राउ परेकामध्ये २ जना शाक्यकै साथी हुन् । उनीहरुलाई पनि तस्कर समूहले यातना दिएको थियो । मृत्यु भएपछि शव लुकाउने जिम्मेवारी पनि उनीहरुलाई दिइएको थियो । उनीहरु आफैं पीडित रहेकोमा उनीहरु नै हत्यारा भएको भन्दै प्रहरीले कारबाही अघि बढाएपछि उनीहरुले यसबारे उजुरी गरेका थिए । गृहमन्त्री थापासम्म उनीहरुको उजुरी परेपछि छानबिनले नयाँ मोड लिएको हो । यो घटनाले मोरङ प्रहरी पनि विवादमा तानिएको छ । स्रोतका अनुसार मुख्य तस्करसँग केही उच्च प्रहरी अधिकारीहरुको समेत संलग्नता देखिएको छ । ओ एसनेपालमा खबर छ ।

Back to top button