एजेन्सी, २९ चैत ।
इटालियन क्लब युभेन्टसले गएको वर्ष च्याम्पियन्स लिग फुटबलको फाइनल खेलेको थियो ।
रियल मड्रिडसँगको फाइनलमा उ पराजित भएर उपविजेतामा सीमित भयो । यो वर्ष पनि युभेन्टसको भेट रियल मड्रिडसँगै भयो । तर फाइनल भन्दा दुई चरण अघि अर्थात क्वाटरफाइनलमा ।
पहिलो लेगमा ३–० ले पराजित भएको युभेन्टसले दोस्रो लेगमा खेलमा फर्किने बलियो आधार बनायो । बुधबार राति भएको दोस्रो लेगमा इन्जुरी समयसम्म ३–० को अग्रता लियो । तर इन्जुरी समयको अन्तिम तिर युभेन्टसलाई झड्का लाग्यो ।
पहिलो, टिमका सर्वाकालीन उत्कृष्ट खेलाडी, जो सम्भवतः आफ्नो खेल जीवनको अन्तिम च्याम्पियन्स लिग खेलिरहेका थिए, गोलरक्षक जियानलुइजी बुफोनले रातो कार्ड पाए ।
उनले इन्जुरी समयको तेस्रो मिनेटमा अपशब्द प्रयोग गरेका कारण सीधै रातो कार्ड पाएका हुन् । रेफ्री माइकल ओलिभरले उनलाई रातो कार्ड देखाएका हुन् ।
दोस्रो, रियल मड्रिडले पेनाल्टी पायो । युभेन्टसका मेहदी बेनाटियाले रियलका लुकास वाज्क्वेजलाई फउल गरेकोमा रेफ्री ओलिभरले रियललाई पेनाल्टी दिए ।
त्यसको प्रतिक्रिया स्वरुप बुफोनले अपशब्द प्रयोग गरे अनि उनले रातो कार्ड पाए । पेनाल्टीको निर्णयपछि खेलको बाटो रियल तर्फ मोडिएको थियो ।
केही बेर ढिला गरी पेनाल्टी प्रहार भयो । इन्जुरी समयको सातौँ मिनेटमा रियलका लागि पेनाल्टी प्रहार गर्न अघि आए स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ।
उनले गोल गरे र टिमलाई अन्तिम चारमा पुर्याए । युभेन्टसको सपना चकनाचुर भयो । रोनाल्डोले यो सिजन रियलका लागि ४१ गोल गरिसकेका छन् ।
खेलपछि युभेन्टसका बुफोनले रेफ्री ओलिभरको आलोचना गरेका छन् । बुफोनले रेफ्री ओलिभरको मनमा फोहोरको थुप्रो रहेको प्रतिक्रिया दिएका छन् ।
बुफोनले आफूहरुमाथि दुर्भाग्यपूर्ण घटना बनेर रेफ्री ओलिभर आएको र उनकै कारण आफूहरुको सपना चकनाचुर भएको इटालियन टेलिभिजनसँग बताएका छन् ।
आफूहरुले पहिलो लेगमा जेका लागि पेनाल्टी पाएका पाइएकाे थिएन रेफ्रीले दोस्रो लेगमा रियललाई त्यस्तै घटनामा पेनाल्टी दिएको बुफोनको आरोप छ ।
आफूहरुले दिनु पर्ने सबै दिएको र अविश्वसनीय पुनरागमन गरेको तर रेफ्रीकै कारण आफूहरु निराश हुन बाध्य भएको बुफोनको आरोप छ ।
बुफोनले आफ्नो खेल जीवनमा च्याम्पियन्स लिगमा पहिलो पटक रातो कार्ड पाएका हुन् । उनले युभेन्टसबाट ६५० औँ खेल खेलेका छन् ।