नवलपरासी, २९ चैत ।
नवलपरासीको बुटिङ्गटार गाउँपालिकाको सिमार्दी भञ्ज्याङ्गमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । आठजना घाइते भएका छन् ।
बिहीबार बिहान साढे सात बजेतिर भएको दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाहरुको नाम ठेगाना खुलिनसकेको बुलिङ्गटार गाउँपालिकाका वडा अध्यक्ष सूर्यबहादुर रानाले जानकारी दिनुभयो ।
बुलिङ्गटारबाट दलदलेका लागि छुटेको ग १ ज ५३३७ नम्बरको जीप बुलिङटारको वडा नम्बर – ५ र ६ को बीचमा पर्ने सिमार्दी भञ्ज्याङमा सडकबाट खसेको हो ।
घाइतेलाई दलदलेसम्म ल्याउन अझै एक घण्टा लाग्ने भएकाले तत्काल अस्पताल पुर्याउन समस्या भएको उहाँले बताउनुभयो । ११ जना सवार रहेको जीपका चालक र सहचालक भने सकुशल छन् ।