पाल्पाको जल्पामा बर्थिङ सेन्टर संचालन

पाल्पा,२९ चैत ।

पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पामा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) संचालनमा आएकोे छ । पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको सक्रियतामा आजदेखि बर्थिङ सेन्टर संचालन भएको हो । बर्थिङ सेन्टर स्थापना भएपछि यहाँका महिलाहरुलाई प्रसूतिका लागि तानसेन, बुटवल धाउनु पर्ने बाध्यता हटेको छ ।

बर्थिङ सेन्टरको उद्घाटन गर्दै जिल्ला समन्वयन समितिका सदस्य इश्वरी प्रसाद न्यौपानेले गाउँ गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि प्रसुतिका लागि महिलाहरु बजार धाउनु नपर्ने बताउनुभयो । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले महिलाहरुलाई कम खर्चमा सुरक्षित तरिकाले गाउँमै प्रसुति गराउनका लागि गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको बताउनुभयो । कार्यक्रममा पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागीरथी भट्टराई, जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको अधिकृत कल्पना पौडेल, पूर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक श्रीराज आचार्य, रम्भा गाउँपालिकाका स्वास्थ्य संयोजक महेश आचार्य, माथागढी गाउँपालिका स्वास्थ्य संयोजक मदन बहादुर चिदी, पूर्वखोला ४ देवीनगरका वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठ, पूर्वखोला ५ वीरकोटका वडा अध्यक्ष धन बहादुर सिंजाली, सिलुवा स्वास्थ्य चौकीका प्रमुख पारवती केसी, सुआहाराका फिल्ड संयोजक दिनेश घिमिरे लगायतले बोल्नु भएको थियो ।

जल्पा स्वास्थ्य चौकीका प्रमुख रेशम सुनारको स्वागतबाट सुरु भएको कार्यक्रम पूर्वखोला २ जल्पाका वडा अध्यक्ष नीरबहादुर सारुको अध्यक्षता र पदम दर्लामीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

Back to top button