चट्याङ के हो र कसरी बच्ने ? चट्याङमा परे यसरी गर्नुहोस् उद्धार

नेपालमा चट्याङ लागेर वर्षेनी दर्जनौ मानिसले ज्यान गुमाउने गरेका छन् । विशेषगरी गर्मीयामको बेला प्रायजसो मनसुन पूवार्ध तथा मनसुनकालमा नेपालको विभिन्न स्थानमा चट्याङबाट थुप्रै मानिसको ज्यान जाने गरेको छ । यतिबेला चट्याङ पर्ने मौषम हो । हामीले आजभोली चट्याङका आवाज धेरै सुन्नुका साथै चट्याङ लागेका समाचार सुनीरहेका छाँ । हुनत बैज्ञानिकहरूका अनुसार चट्याङ गर्मीयाममा मात्र नभई जाडोयाममा पनि पर्ने गर्छ । तर तुलनात्मक रूपमा गर्मीयाममा चट्याङ बढी पर्ने र यसको प्रभाव बढी देखा पर्नेगर्छ । नेपाल सरकारको तथ्यांक अनुसार नेपालमा बार्षिक सरदर ३५ जना मानिसको ज्यान हुरीबतास तथा चट्याङबाट मात्र जाने गर्छ ।

चट्याङ के हो ? कसरी पर्छ ?

चट्याङ एक किसिमको बिजुलीको धार हो जुन वायुमण्डलमा देखापर्ने गर्छ । वैज्ञानिक अध्ययन अनुसार एक चोटी चट्याङ पर्ने बेला १० हजार एम्पिएर वा सो भन्दा बढी मात्रामा करेन्ट उत्पत्ति हुने गर्छ । यति धेरै करेन्ट उत्पत्ति हुने भएकोले यस्तो बिजुलीको धार आकाशबाट पृथ्वीको धरातलतिर केन्द्रित भई प्रवाहित हुनेबेला यसको संसर्गमा आउने मानिस वा अन्य कुनै प्राणी क्षण भरमै मृत्यु हुने गर्छ ।

आकाशमा एक चोटी बिजुली चम्कने बेला वायुमण्डलमा अत्याधिक मात्रामा तापशक्ति पैदा हुने गर्छ । यसले वायुमण्डललाई आकस्मिक रुपमा तताईदिन्छ । अध्ययन अनुसार आकाशमा एक चोटी विजुली चम्कने बेला वायुमण्डलीय तापमान एक्कासी बढेर ३० हजार डिग्री सेल्सियस वा सो भन्दा बढी पुग्न थाल्छ । आकस्मिक रुपमा क्षणभरमै वायुमण्डलीय तापमान यति धेरै बढ्ने कारण त्यस क्षेत्रको वायुमण्डल तातिएर आयतन एक्कासी वृद्धि हुन थाल्छ जसले गर्दा त्यहाँ एक किसिमको विस्फोटनको आवाज निस्कने गर्छ । र यसलाई मेघ गर्जन भनिन्छ । यही कारणले गर्दा चट्याङ पर्ने बेला आकाशमा बिजुली चम्कनुको साथै मेघ गर्जनको आवाज आउने गर्छ  ।

चट्याङ आकाशमा क्यूमलोनिम्बस नामको एक किसिमको वादल निर्माण हुनेवेला मात्र देखा पर्ने गर्छ । यस्तो वादलको स्वरुप कालो हुने गर्छ भने यस्तो वादलको निर्माणले चट्याङ पर्ने मौसमी गतिविधिलाई निम्त्याइरहेको हुन्छ । क्यूमलोनिम्वस बादलको तल्लो भागमा प्रशस्त मात्रामा पानीको थोपा रहेको हुन्छ भने माथिल्लो भागमा असिना, बरफको टुक्रा र हिउँ रहेको हुन्छ ।  त्यही कारण बादलको माथिल्लो भागको वायुमण्डलीय तापमान अत्यन्त कम हुने गर्छ । कहिलेकाही वायुमण्डलीय तापमान ४० डिग्री सेल्सियस वा सोभन्दा कम पनि हुने गर्छ । यो बादलको उचाई ठाउँ अनुसार फरक फरक हुने गर्छ भने भूमध्य रेखा आसपास अर्थात् उष्ण प्रदेशतिर २० किलोमिटर वा सो भन्दा बढी पनि हुने गर्छ । यो बादल यसरी बाक्लो भएकै कारण कालो देखिने गर्छ भने यो बादलभित्र अत्यन्त जोडले हुरीबतास तलमाथि चलिरहन्छ ।

कालान्तरमा यही हुरीबतास वादलबाट वाहिर निस्कन थालेपछि पृथ्वीको सतहमा आँधिवेहरी चल्ने गर्छ । वादलभित्र हावा तलमाथि भईरहने कारण त्यस बादल भित्र रहेको पानीको थोपा, बरफ, असिना तथा हिउँ आदि बीच एक आपसमा घस्रण हुन थाल्छ जसले गर्दा  बादल भित्र घनात्मक र ऋणात्मक चार्जको विकास हुन थाल्छ । बादल भित्र  विद्युतीय चार्ज उत्पत्ति हुनु नै चट्याङ पर्नुको प्रमुख कारण बन्छ । यीनै चार्जहरु बीच आकर्षणले आकाशमा बिजुली चम्कने गर्छ ।

यस्तो छ बैज्ञानिक कारण 

संसारका सम्पूर्ण वस्तुहरु यिनै ११७ प्रकारका तत्वहरुको विभिन्न संयोजनबाट बनेका हुन्छन्। सबैभन्दा सानो अणु  मा पनि कम्तिमा २ वटा परमाणु हुन्छन् जस्तै हाइड्रोजन मात्र २ वटा उस्तै परमाणु मिलेर बनेको छ। कार्बन डाइअक्साइड  नामक अणुमा एउटा कार्बनको परमाणु र दुई वटा अक्सिजनका परमाणु गरी ३ वटा परमाणु तत्वको मिलन छ।

यी सबै प्रकारका परमाणुहरुमा प्रोटन,  इलेक्ट्रन,  र न्युटन नामका ३ प्रकारका विद्युतीय गुणहरु हुन्छन्। इलेक्ट्रन, प्रोटन र न्युटनको संख्या पनि धेरै हुन्छ अनि यिनीहरु धेरै प्रकारबाट एक–आपसमा फरक हुन्छन्। उदाहरणको लागि प्रोटन धनात्मक हुन्छ, इलेक्ट्रन ऋणात्मक हुन्छन् भने न्युटनमा जिरो चार्ज हुन्छ। प्रोटन र न्युटन परमाणुको केन्द्रमा जोडिएर रहेका हुन्छन्, जसलाई परमाणुको केन्द्र भाग  भनिन्छ। इलेक्ट्रनहरु यही केन्द्रभागको वरिपरी नक्षत्र  मा घुमिरहन्छन्। वस्तु हलचल नगर्दा उक्त वस्तुमा हुने इलेक्ट्रन र प्रोटनको संख्या बराबर हुन्छ। तर जब वस्तु हलचल गर्दछ अथवा अर्को वस्तुसँग रगडिन्छ वा घोटिन्छ, त्यो वस्तुमा हुने विविध अणुका इलेक्ट्रन अर्को अणुमा सर्छन्।

यसरी थप इलेक्ट्रनहरु प्राप्त गर्ने अणुमा ऋणात्मक अथवा माइनस चार्ज बढी हुने भएकोले उक्त अणु ऋणात्मक हुन्छ भने जुन अणुबाट इलेक्ट्रनहरु अर्कोमा सर्छन, त्यस अणुमा प्रोटनको संख्या बढी हुने भएकोले उक्त अणुमा प्लस चार्ज बढी हुन्छ अथवा धनात्मक हुन्छ।
यसरी एउटा अणुबाट अर्को अणुमा इलेक्ट्रन सरेर यिनीहरुको गतिविधि बढ्ने र चार्ज हुने प्रक्रियालाइ स्ट्याटिक चार्ज भनिन्छ। कपालमा काइँयो वा बेलुन घोटी केही साना चिजको नजिक लैजाँदा त्यस्ता चिज काइँयो वा बेलुनतर्फ चुम्बकमा फलाम टाँसिए जस्तै गरी आकर्षित हुनु, बेलुन भित्तामा टाँसिनुको कारण कपालका इलेक्ट्रोन यिनीहरुमा सर्नु हो।

जाडोमा स्वीटर खोल्दा वा दुई वटा फलाम तथा ढुंगा ठोकाउँदा झिल्का देखिनु, जाडोमा कारबाट ओर्लिन ढोका खोल्दा झट्का लाग्नुको कारण पनि त्यस्तै हो।  यो साना चिजहरुमा हुने थोरै इलेक्ट्रोनको थोरै समयको गतिविधि भएकोले स्ट्याटिक चार्जको सानो प्रभाव भयो, तर धेरै चिजको, लामो समयसम्मको र ठूलो शक्तिको यस्तो घोटिने ठोकिने प्रक्रिया भैरह्यो भने विशाल स्ट्याटिक चार्ज र विद्युत उत्पन्न हुन्छ।

के चट्याङ पर्दा हलोको फालि झर्छ ?

कतिपय मानिसमा चट्याङ पर्दा हलोको फाली जस्तो फलामको वस्तु खस्छ भन्ने धारणा छ, त्यो सत्य होइन। अर्काथरी मान्छेमा ठूलो आवाज जहाँ खस्छ, त्यहीँ नै चटयाङ पर्छ भन्ने धारणा छ। यो कुरा केही मात्रामा ठिक हो तर भन्ने तरिका गलत हो। तथ्य के हो भने जब बादलबाट माइनस चार्जको विशाल लहरो पृथ्वीमा आउँछ, यो एउटा कुलो जस्तो बाटो बनाएर आउँछ। पृथ्वीमा झरेपछि सिद्धिन्छ। आखिर आकासबाट आउने यस्तो विद्युत कुनै जलविद्युत केन्द्र वा आणविक भट्टीबाट जस्तै लगातार आइराख्ने त होइन। चार्ज भयो, आयो, सिद्धियो। तर जब यस्तो विद्युत जमिनमा जान्छ, त्यो विद्युत आएको कुलो रित्तो हुन्छ। अनि त्यो रित्तो कुलोको भाग ओगट्न दायाँबायाँका चार्ज बोकेका बादल त्यहाँ हाम्फाल्छन, एकापसमा ठूलो जोडले ठोक्किन्छन् र त्यस्तो ठुलो आवाज आउँछ। आवाज करेन्ट होइन। आवाजले प्राणी मर्दैन तर बहिरो हुन सक्छ, झ्यालढोकाका सिसा भने फुट्न सक्छन्।

कस्तो ठाउँमा बढि चट्याङ पर्छ रु कुनबेलाको चट्याङ बढि खतरनाक ?

सुरु सुरुमा आकाशको माथिल्लो भागमा बिजुली चम्कने गर्छ । यस्तो चट्याङबाट मानवीय हानी नोक्सानी हुने गर्दैन । तर जव आकाशमा छिटो छिटो बिजुली चम्कने र क्षण क्षणमा मेघ गर्जनको आवाज सुनिन थाल्छ तब चट्याङको डर बढ्दै जान्छ । यस्तो वेला हुरीबतास चल्न थाल्यो र पानी पर्न थाल्यो भने चट्याङबाट हानी नोक्सानी हुने खतरा बढी हुन्छ । किनभने वादलबाट निस्कने हुरीबतास र वर्षा संगसँगै विद्युतीय धार पनि आकाशबाट पृथ्वीतिर केन्द्रित भई प्रवाहित हुन थाल्छ ।  यस्तो वेला पानीमा भिज्ने व्यक्ति वा जो कोही प्राणीलाई पनि करेन्ट लाग्ने डर अत्याधिक मात्रामा हुन्छ र यस्तो बेला मानिसको ज्यान समेत जाने सम्भावना हुन्छ ।  त्यसैले हुरीबतास संगसँगै पानी परेर चट्याङ परी रहेको वेला वाहिर निस्कनु खतरनाक हुन्छ ।  तर पानी रोकिइ सकेपछि भने चट्याङको डर हुँदैन ।

चट्याङ पर्ने बेला विद्युतीय धारको प्रवाह आकाशबाट पृथ्वीतिर केन्द्रित हुने भएकोले पहाडको उच्च भागमा चट्याङ पर्न सक्ने सम्भावना बढी हुन्छ । त्यही कारण पहाडको उच्च स्थानमा निर्मित घर, टहरा, गोठ आदि चट्याङको निशाना बन्न सक्ने डर हुन्छ । त्यस्तै रुख चट्याङको  तारो बन्न सक्ने डर बढी हुन्छ ।  त्यसलेै रुखमुनी ओत लिनु खतराजनक हुन्छ भने विजुलीको खम्बामुनी बस्नु पनि खतरा नै हुन्छ । त्यस्तै चट्याङ परेको वेला खुल्ला आकाशमूनि हिडडुल गर्नु, खेतमा काम गर्नु, पोखरीमा पौडी खेल्नु वा डुङ्गा चलाउनु डरलाग्दो हुन्छ । चट्याङ पर्ने वेला विद्युतीय धारको प्रवाह फलाम वा अन्य धातुमा छिटो हुन सक्ने भएकोले फलाम वा धातु हातमा लिइ हिड्नु खतरा हुन्छ ।

चट्याङबाट कसरी सुरक्षित् हुन सकिन्छ त ?

चट्याङबाट बच्ने सबभन्दा उत्तम उपाय भनेको घरभित्र बस्नु हो । पक्की घर र त्यसमा पनि छानामा लाइटनिङ एरेष्टर लगाएको घर सबभन्दा उत्तम मानिन्छ । यदि घर बाहिर हो भने मोटरगाडी भित्र झ्यालढोका बन्द गरी बस्नु उचित हुन्छ । मोटरको टायरले बिद्युतीय धारलाई भू–सतहसंगको संसर्गबाट अलग्याइदिने भएकोले चट्याङले असर पार्न सक्दैन । तर चट्याङ पर्ने बेला कतै सहारा लिने ठाउ छैन भने घुडाले भूर्ईमा टेकेर हात टाउको माथि राखी निहुरिएर बस्नु उचित मानिन्छ । तर भूर्ईमा लम्पसार पर्ने वा सुत्ने गर्नु हुदैन । यसले चट्याङको खतरा झन् बढी हुने गर्छ । चट्याङ परीरहेको बेला टेलिभिजन, एरकन्डिसन वा बिजुलीको माध्यमबाट सञ्चालन हुने यान्त्रिक साधन सञ्चालन गर्नु खतरा मानिन्छ । यस्तो बेला पानीसँग र इलेक्ट्रोनिक सम्बन्धी कुनै काम गर्नु हँदैन ।  घर बाहिर भएमा पनि तुरुन्त बलियो भवन, गाडी आदिभित्र गई झ्याल ढोका बन्द गर्नु सुरक्षित हुन्छ। खालि खुट्टाले जमिन, धातु आदिमा टेक्नु हुँदैन। फलामका कब्जा, चेन भएका ब्याग बोक्नु हुँदैन।

चट्याङ लागि हालेमा के गर्ने ?

चटुयाङ लागेर मानिसको मृत्यु हुन्छ । तर चट्याङ लाग्दैमा मानिरसको मृत्यु हुन्छ भन्ने पनि होइन । मानिस घाइते हुन सक्छ । यदि कसैमाथि चट्याङ परेको छ र उ घाइते छ भने तत्काल डाक्टर बोलाइहाल्नु पर्छ। पीडितलाई छुन सुरक्षित हुन्छ ।  चट्याङ लागेका मानिसमा विद्युतीय करेन्ट बाँकी हुँदैन, त्यसैले पीडितलाई छुँदा अरु मानिसलाई पनि करेन्टको झट्का लाग्दैन।

प्राथमिक उपचार, नाडी
चट्याङ लागेका व्यक्तिको तत्काल नाडी छाम्नुपर्छ र प्राथमिक उपचार दिने ज्ञान छ भने दिइहाल्नुपर्छ।

टाउको, खुट्टा
धेरैजसो टाउकोबाट करेन्ट प्रवेश गर्ने र खुट्टाबाट बाहिरिने हुनाले उनीहरुको टाउको र खुट्टा जलेका हुन्छन्।

अन्धो, हड्डी
पीडितको हड्डी भाँच्चिएको हुन सक्छ। उनीहरुको सुन्ने शक्ति समाप्त भएको हुन सक्छ। वा हेर्ने शक्ति पनि समाप्त भएको हुन सक्छ। यी जाँच गर्नुपर्छ।

आधा मरण, पर्खन राम्रो
अन्तिम पटक बिजुली चम्केको तीस मिनेटसम्म पर्खन राम्रो हुन्छ। किनकि, चट्याङ्बाट हुने आधाजसो मरणका घटना त बिजुली चम्कन बन्द भइसकेको जस्तो लागेको बेला हुने गर्छ।
एकै ठाउँमा चट्याङ दोहोर्याएर कहिल्यै पर्दैन भन्ने भनाई गलत हो। त्यसैले होशियार हुनैपर्छ।

स्रोत : विभिन्न मौषमविद्का लेख, बिबिसी अंग्रेजी र विभिन्न शैक्षिक पाठ्यक्रमबाट  

Back to top button