प्रधानमन्त्रीको भारत भ्रमण अगावै तीस सचिवको सरुवा

काठमाडौँ, २३ चैत ।

सरकारले विभिन्न मन्त्रालयका सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण जानु अघि बसेको मन्त्रिपरिषद् बैठकले सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री कार्यालयमा रहेका सचिव प्रेमकुमार राईलाई गृहमन्त्रालय सरुवा गरिएको छ भने गृहका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालय सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयमै रहेका अर्का सचिव खगराज बराललाई शिक्षा सचिव बनाइएको छ ।

महेन्द्रमान गुरुङलाई सञ्चार मन्त्रालय सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव राजन खनाललाई अर्थसचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपाने अख्तियार लगिएको छ ।

राष्ट्रिय योजना आयोगका विष्णु लम्साल रक्षा मन्त्रालय सरुवा गरिएको छ भने प्रधानमन्त्री कार्यालयका सचिव शरद्चन्द्र पौडेललाई योजना आयोग लगिएको छ । त्यसैगरी मधुसुदन अधिकारीलाई भौतिक पूर्वाधार मन्त्रालयको सचिव बनाइएको छ । अधिकारी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा हुनुहुन्थ्यो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम तथा रोजगार मन्त्रालयको सचिव बनाइएको छ । नेपाल ट्रष्ट कार्यालयमा कार्यरत अर्जुनकुमार कार्कीलाई पुनिर्निर्माण प्राधिकरणको सचिव बनाइएको छ । सरकारले नीति अनुरुप नै सचिव सरुवा गरिएको जनाएको छ ।

Back to top button