भारतीय टेलिकम बजारमा उथलपुथल

काठमाडौँ, २२ चैत ।

भारतीय टेलिकम उद्योग अनिश्चित बनेको छ । जसलाई सोधे पनि यसको जस र अपसज एकै व्यक्तिलाई जान्छ– मुकेश अम्बानी । भारतका धनाढय मुकेश अम्बानी आफ्नो कम्पनी रिलायन्स जियो लिएर टेलिकम क्षेत्रमा प्रवेश गरेको १८ महिना पुग्यो ।

उनले फोरजी नेटवर्क विस्तारका लागि मात्रै ३१ अर्ब डलर खर्च गरे । उनको कम्पनीले भ्वाइस कल पूरै नि:शुल्क गर्‍यो जबकि त्यो बेला भारतमा सञ्चालित एक दर्जन टेलिकम कम्पनीको मुख्य आम्दानीको स्रोत यही थियो ।

अम्बानीको यो निर्णयले उनका प्रतिस्पर्धीलाई अक्क न बक्क पारिदियो । सन् २०१६ को सेप्टेम्बरमा जियो सञ्चालनमा आएपछि साना उद्योगहरू बिक्री भए, बन्द भए वा ऋणमा डुबे । अहिले भारतीय बजारका तीन ठूला टेलिकम कम्पनी भारती एयरटेल, भोडाफोन र आइडिया शोकमा छन् । अधिकांश टेलिकम कम्पनीको आरोप छ– नियामक निकायले जियोलाई साथ दिएका छन् ।

भारतको सेलुलर अपरेटर एसोसिएसनका अध्यक्ष राजन माथेउ अन्य कम्पनीले जियोसँग प्रतिस्पर्धा गर्न सक्नेमा शंका गर्छन् । ‘फोरजी र फाइभजी विस्तारका लागि ५ वर्षसम्म १० अर्ब डलर कसले खर्च गर्न सक्छ ?’ उनी भन्छन् । भारतीय बैंकहरूसमेत यो लगानी गर्न सक्ने अवस्थामा छैनन् । बैंकहरू घट्दो ऋणको गुणस्तरीयताप्रति चिन्तित छ । उनीहरूको ध्याउन्न ऋण दिनभन्दा पनि पुराना ऋण उठाउनमा केन्द्रित छ ।

तर, उपभोक्तालाई भने जियोप्रति गुनासो छैन । अम्बानीले कुनै चमत्कार गरेका पनि होइनन् । सबैलाई थाहा छ क्रिकेटपछि भारतीयहरूको सबैभन्दा चासो बलिउडमा छ । जियोले दिने फिल्म हेर्ने सुविधाले प्रयोगकर्तालाई आकर्षित गरिरहेको छ ।

अम्बानीले प्रसारण, सामग्री र व्यापारलाई जोडेर प्रयोगकर्तालाई आकर्षित गरिरहेका छन् । यसमा प्रयोगकर्तामैत्री सेवा दिने टेलिकमलाई पनि गाह्रो परिरहेको छ । सन् २००९ मा टाटा ग्रुपले अर्को एक कम्पनीबाट २.२ अर्ब डलर लगानी भित्र्यायो र आफ्नो कम्पनीप्रति प्रयोगकर्ता आकर्षित गर्न नयाँ नियम लागू गर्‍यो । उसले भ्वाइस कलमा प्रतिसेकेन्ड १ पैसा मात्रै लिने अफर ल्यायो । टाटा ग्रुपले सुरु गरेको यो अफरले भारतीय टेलिकममा नयाँ आयाम थपेको थियो । तर, टाटाले आफूभन्दा ठूला कम्पनीसँग प्रतिस्पर्धा गरिरहन सकेन । ठूला कम्पनीले पनि सोही खाले सुविधा दिन थालेपछि टाटाले आफ्ना ग्राहक संख्या गुमाउँदै गयो । गत वर्ष मात्र टाटाले आफ्नो टेलिकम व्यापार एयरटेललाई सुम्पियो ।

सन् २०१२ मा सर्वोच्च अदालतले १ सय २२ वटा लाइसेन्स खारेज गरिदिएपछि भारतीय टेलिकम व्यापारमा पुराना मान्यताहरू परिवर्तन हुन थालेका थिए । तर, एयरटेल, भोडाफोन र आइडिया आफ्ना पुराना मान्यताहरू छाड्न तयार थिएनन् र टाटा शान्तिपूर्वक यो युद्धबाट बाहिरियो । भारतीय टेलिकम व्यवसायमा प्रक्रियाहरू निश्चित छैनन् भन्ने यो उदाहरण थियो ।

यही अवस्था बुझेका अम्बानी लामो समयदेखि यो व्यवसायमा छिर्ने तयारीमा थिए । प्रतिस्पर्धीले अम्बानीको चाल सन् २०१३ मै बुझ्नुपर्ने थियो । जब नियामक निकायले आफ्नो नियम परिवर्तन गर्दै जियोलाई उसको इन्टरनेट सेवा प्रदायकका रूपमा दिइएको पान (इन्डिया ब्रोडब्यान्ड इन्टरनेट स्पेक्ट्रम लाइसेन्सलाई युनिफाइड लाइसेन्समा बदलिदिएको थियो । यस्तो खालको लाइसेन्स पाउने जियो भारतको पहिलो कम्पनी हो ।

अब एयरटेल, भोडाफोन र आइडियाले गुनासो गरे पनि उपभोक्तालाई यसले केही फरक पर्ने छैन किनकि उनीहरू जियोले दिने नि:शुल्क भ्वाइस कल र द्रुत गतिको इन्टरनेटमा फिल्म हेर्न व्यस्त छन् । एजेन्सी

Back to top button