अाेलीकाे भारत भ्रमण राष्ट्रघाती सम्झाैता कार्यान्वयनकाे कसम खान : सिपी गजुरेल

काठमाण्डौ, २१ चैत ।

विगतमा गरिएका अनगिन्ती राष्ट्रघाती सन्धि सम्झौता कार्यान्वयनको कमस खान केपी ओली भारत भ्रमणमा जान लागेको आरोप माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ले लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता गजुरेलले ओलीले विगतमा गरिएका अपर कर्णाली, महाकाली, कोशी उच्च बाँध, अरुण तेस्रो लगायतका राष्ट्रघाती सम्झौताहरु लागू गराउने कसम खान दिल्ली भ्रमण गर्न लागेको दावी गरेका हुन् ।

गजुरेलले लेखेका छन्, ‘केपी ओलीको भारत भ्रमणको यथार्थ अब प्रष्ट भएको छ । अरुण तेस्रोको दिल्लीबाटै मोदीसँग संयुक्त रुपमा गरिने कार्यक्रम, अपर कर्णाली, महाकाली, कोशी उच्च बाँध आदि अनगिन्ती राष्ट्रघाती सम्झौताहरुलाई लागू गर्ने कसम खान यो दिल्ली भ्रमण हुँदै रहेछ भन्ने कुरा उनैले प्रष्ट पारेका छन् ।’

ओलीको यो भ्रमणबाट उनको देशभक्ति उदांग भएको भएको भन्दै अध्यक्ष गजुरेलले लेखेका छन्, ‘ओलीको भ्रमणले नेपालमा देशभक्तिपूर्ण आन्दोलनको नयाँ अध्याय सुरु हुनेछ ।’

प्रम ओलीले मंगलबार मात्र आफ्नो भारत भ्रमण विगतका सम्झौता र प्रतिबद्धता छिटो कार्यान्वयन गर्नेमा केन्द्रित हुने बताएका थिए । उनले मंगलबार संसदका दुवै सदनलाई सम्बोधन गर्दै भारत भ्रमणको उद्देश्य, एजेण्डा र औचित्यबारे जानकारी दिएका थिए ।

Back to top button