प्रचन्डले भनेः प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीचको सम्बन्ध न्यानो बनाउन

चितवन, २० चैत ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले नेपार र भारत दुवै देशका बीचमा न्यानोपन ल्याउने विषयहरूमा केन्द्रित हुने बताएका छन्।

नेपालको पहिलो सहकारी संस्था बखान सहकारी संस्थाले निर्माण गर्न लागेको बखान राष्ट्रिय सहकारी संग्रहालयको शिलान्यास गर्न चितवन पुगेका प्रचण्डले प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा नयाँ र महत्वपूर्ण विषयहरूमा छलफल र सम्झौता नहुने बताएका छन्।

‘केही पुराना विषयलाई अगाडी बढाउने विषयमा छलफल र सम्बन्धमा न्यायोपन ल्याउने बारेमा नै बढी केन्द्रित हुन्छ यो भ्रमण’, सरकारको प्रमुख साँझेदार पार्टीका अध्यक्षसमेत रहेका प्रचण्डले भने, ‘नयाँ एजेण्डामा प्रवेश गर्ने, नयाँ निर्णय गर्ने कुनै योजना छैन।’

भारतीय मीडियाहरूले महाकाली नदीको विषयमा कुरा उठाएको भन्ने विषयमा पत्रकारहरूको प्रश्नमा उनले भने, ‘उनीहरूले उठाएका छन् तर अहिले त्यो विषयमा कुनै सहमति सम्झौता हुँदै छैन।’

एमाले र माओवादीबीच पार्टी एकतामा कुनै विवाद नरहेको भन्दै प्रचण्डले बैशाख ९ मा एकताको घोषण हुनेगरी तयारी गरेको बताए। उनले भने, ‘विवादले होइन कार्यदलको प्रतिवेदन नै बल्ल आज बुझिँदै छ, अब त्यो रिपोर्टमाथी छलफल गर्ने समय हामीले नपाउने भएकाले प्रधानमन्त्री जी भारतबाट फर्केर आएपछि बैशाख ९ गतेलाई टार्गेट गरेर हामी घोषणा गर्नेतिर जान्छौँ।’

पार्टि एकता बराबरी सिद्धान्तको आधारमा सम्मानजनक रुपमा हुने अध्यक्ष प्रचण्डको भनाई छ। प्रचण्डले भने, ‘दुईवटा प्रमुख कम्युनिस्ट पार्टीको बीचमा एकता हुँदैछ भने त्यो एकताको सिद्धान्त प्रतिशतमा होइन सम्मानजनक सिद्धान्तको आधारमा, बराबरीको सिद्धान्तको आधारमा एकता हुनुपर्‍यो भन्ने सामान्य कुरा हो, त्यो हामी छलफल गरेर टुंगो लगाउँछौँ।’

Back to top button
Close