सांसदहरुले तयारीविनै शुरु गरेका कारण मेलम्ची खानेपानी आयोजनाले ठूलो क्षति व्यहोर्नुपरेको बताए

१८ साउन, काठमाडौं ।

सांसदहरुले तयारीविनै शुरु गरेका कारण मेलम्ची खानेपानी आयोजनाले अहिले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन् । आयोजना स्थल क्षेत्रको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) जस्ता पूर्वकार्यमा हेलचेक्र्याइँ गरेका कारण अहिले मेलम्ची आयोजनाले ठूलो क्षति व्यहोर्नुपरेको उनीहरुले बताए ।

सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिबारे खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना विकास समितिका अधिकारीहरुसँग छलफल गरेको थियो ।

छलफलमा सांसदहरुले मेलम्ची आयोजनाको मुहान क्षेत्रको भौगर्भिक अध्ययन नभएकै कारण अहिले समस्या देखिएको बताए । ‘के हामीले मेलम्ची आयोजना छनोट गर्नुअघि गर्नुपर्ने पूर्वकार्यको सबै प्रक्रिया अवलम्बन गरेका थियौं त ? थियौं भने मेलम्ची आयोजनामाथिको भूभागबारे किन हेरिएन, हेरिएको भए यो आयोजना छनोट हुन्थ्यो त ?’ नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले प्रश्न गरे ।

पहाडीले अघि भने, ‘जहाँ हिमपहिरो आउँछ त्यहाँ मैदान बन्छ । मेलम्चीमाथि जुन मैदान छ त्यो अहिले आएर बनेको हो त ? होइन । होइन भने त्यस मैदानको अध्ययन गर्नुपर्ने थियो आयोजना छनोटअघि ।’ उनले बेलैमा अध्ययन नगरी आयोजना अघि बढाएका कारण ठूलो क्षति भएको भन्दै मेलम्चीको समस्या मानव सिर्जित भएको दाबी गरे ।

मेलम्ची नदीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल, सुरुङलगायतका संरचना पुरेको छ भने मुहानमा जाने सडक पनि बगाएको छ ।

नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टले आयोजना छनोट अघि नै त्रुटि भएको जिकिर गरे । उनले आयोजना छनोटअघि अध्ययन गरिएको भए पनि त्यो औपचारिकताका लागि मात्रै गरिएको हुन सक्ने उनले बताए । ‘आयोजना छनोट गर्दा र निर्माण शुरु गर्नुअघि विस्तृत अध्ययन गरिनुपर्थ्यो । गरियो होला तर, त्यो औपचारिकताका लागि थियो होला त्यसकारण अहिले ठूलो क्षति हुन पुग्यो,’ विष्टले भने ।

अहिलेकै स्थितिमा मेलम्ची आयोजना पुनर्निर्माण गरे पनि दिगो हुनेमा उनले आशंका गरे । ‘अब पुनर्निर्माण गर्दा फेरि क्षति हुन्न भन्ने के ग्यारेन्टी ? पुनर्निर्माण गर्न कति खर्च लाग्छ, कति समय लाग्छ ? अब बन्दा पनि दिगो हुन्छ कि हुन्न ?’ सांसद विष्टले थपे, ‘अब हामीले विकल्प पनि सोच्नुपर्छ । त्रिशूलीको पानी मेसिनले उठाएर वितरण गर्न सकिन्छ कि !’

नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले मेलम्ची आयोजना निर्माणअघिको पूर्वकार्यमा त्रुटि भएको निष्कर्ष निकाले जिम्मेवारी लिन कोही तयार नहुने बताए । ‘आयोजना निर्माणअघि ईआईए गरियो कि गरिएन ? गरेको भए यस्तो विपत्ति कसरी आइलाग्यो ? कोही जिम्मेवारी लिन तयार छ ? छैन,’ उनले भने ।

सांसद सुनुवारले राजनीतिक नेताहरुलाई व्यंग्य कसे, ‘मेलम्ची आयोजनाको पानी काठमाडौं आएपछि उद्घाटन गर्दा कसले सपना देखेथ्यो ? भनी फोटो टाँसियो । उद्घाटन गर्नेको प्रचार गरियो । उद्घाटनमा मन्त्रीहरु लाइन लागेको देखियो । तर, समस्या आएपछि जिम्मेवारी लिन कोही तयार छैन ।’

नेकपा माओवादी केन्द्रकी सांसद इन्दुकुमारी शर्माले काठमाडौंमा बस्ने आगामी पुस्ताले सहज रुपमा पानी पिउन पाओस् भन्ने आफ्नो चाहना रहेको बताइन् । ‘२२ वर्षपछि मेलम्ची सपना पूरा भयो । तर, लेदोसहितको बाढीले त्यो सपना धेरै समय टिक्न सकेन । मेलम्चीको पानी कहिलेदेखि फेरि पिउन पाउने हो यकिन छैन । मेरो चाहना छ,’ उनले भनिन्, ‘अब आगामी पुस्ताले सहज रुपमा खानेपानी पिउन पाओस् ।’

१ अर्ब ८८ करोड बराबरको क्षति

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्चीमा खानेपानी आयोजनामा १ अर्ब ८८ करोड रुपैयाँको क्षति भएको छ । प्राविधिक निरीक्षणको लागि सुरुङको मुख्य गेट बन्द गरिएकाले मुख्य टनेलमा क्षति नपुगेको अनुमान मेलम्ची खानेपानी आयोजना विकास समितिको छ ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्भिक अध्ययनमा करीब १ अर्ब ८८ करोडको क्षति भएको पाइएको छ ।

मेलम्ची बजारदेखि मुहान क्षेत्र अम्बाथानसम्मको २२ किमिमध्ये ८ किमी सडक पूर्ण रुपमा क्षति भएको, याङ्ग्रीतर्फ ५ किमी सडक क्षति भएको, ६ वटा पक्की पुल बगाएको छ ।

यस्तै, लेदोसहितको बाढीले आयोजनाको डाइभर्सन टनेलमा २१० मिटरसम्म लेदो भरिएको, हेडवक्र्सका पक्की संरचनाहरु पक्की बाँध, गेट, जेनेरेटर घर र कन्ट्रोल हाउस पुरिएको छ । कन्ट्रयाक्टर लेबर क्याम्प पनि बगाएको छ ।

मेलम्चीबाट सिकौं’

सांसदहरुले अब हुने विकास निर्माणमा मेलम्चीमा जस्तो हेलचेक्र्याइँ नगर्न सरकारलाई आग्रह गरेका छन् । ‘२१ वर्ष लगाएर बनाएको यत्रो राष्ट्रिय गौरवको योजनामा यत्रो ठूलो त्रुटि !’ नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भने, ‘मेलम्चीबाट सिकौं । याङ्ग्री र लार्केको पानी ल्याउँदा फेरि त्रुटि नगरौं ।’

कुनै पनि विकास आयोजना छनोटअघि मेलम्चीलाई सम्झिनुपर्ने उनको भनाइ छ ।

अहिले पनि ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने काम देशका विभिन्न भूभागमा भइरहेको भन्दै उनले थपे, ‘ढुङ्गा, गिट्टी र बालुवा उत्खनन्लाई निरन्तरता दिने हो भने पहाडमा के हो ? तराईमा के होला ?’

सांसद गौतमले मेलम्ची आयोजना निर्माणको समस्या भूकम्प हो कि, हिमनदी फुटेर हो कि ? के हो पहिचान गर्नुपर्ने बताए । ‘समस्या जहाँ भए पनि अब समाधान गरे जाने हो । आगामी दिनमा सचेत हुने हो,’ उनले भने ।

नेकपा माओवादी केन्द्रकी सांसद कमला रोकाले पनि विकास आयोजना अघि बढाउनुअघि के कस्ता अध्ययन गर्नुपर्ने हो त्यो सबै गरेर आयोजना छनोट गर्नुपर्ने बताइन् । ‘मेलम्ची खानेपानी आयोजना पानी पिउन शुरु गरेको केही समयमै अन्योलमा पर्‍यो । यसको समस्या के हो ? भन्ने पहिचान गरौं र मेलम्चीबाट पाठ सिकेर अगाडि बढौं,’ सांसद रोकाले भनिन् ।

भौगर्भिक अध्ययन गरिदिन एडीबीलाई पत्राचार

समिति बैठकमा खानेपानी मन्त्रालय र मेलम्ची आयोजना विकास समितिका अधिकारीले मेलम्चीको पानी काठमाडौं ल्याउने आयोजना अन्योलमा परेको बताए ।

खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले मेलम्ची आयोजनाप्रति निराशा प्रकट गरिन् । उनले आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको बताइन् ।

असार १ को बाढीपछि आयोजना पुनर्स्थापित गर्ने कार्ययोजना बनिरहँदा आइतबारदेखि थप लेदोसहितको बाढी आएपछि आयोजनाको भविष्यबारे थप आशंका उब्जिएको उनले बताइन् ।

‘अस्तिको बाढीले झन् निराश बनायो । अस्तिको बाढीअघि माघसम्म अस्थायी रुपमा भए पनि पानी ल्याउन सकिन्छ अब त्यो समयसम्म काम गर्न सक्छौं कि सक्दैनौं भन्ने भएको छ,’ उनले भनिन् ।

सचिव बज्राचार्यले मेलम्ची खानेपानी आयोजनाभन्दा माथिल्लो क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययन गरिदिन एसियाली विकास बैंक (एडीबी)लाई पत्राचार गरिएको जानकारी दिइन् ।

‘२१ वर्षदेखिको प्रयास गरिएको मेलम्ची खानेपानी आयोजना के हुने भन्ने यकिन छैन,’ सचिव बज्राचार्यले भनिन्, ‘आयोजनाभन्दा माथिको तटीय क्षेत्रको भौगर्भिक अवस्थाबारे एसियाली विकास बैंक (एडीबी)लाई पनि पत्राचार गरेर दीर्घकालीन अध्ययन गरिदिनुस् भनेका छौं ।’

सचिव बज्राचार्यका अनुसार सरकारले सोमबार एडीबीलाई पत्र लेखेर मेलम्चीको माथिल्लो क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययन गरिदिन आग्रह गरिएको हो । ‘पत्र आज मात्रै लेखिएको हो,’ उनले अनलाइनखबरसँग भनिन् ।

पत्रमा एडीबीलाई विज्ञ टोलीहरुबाट अध्ययन गरिदिन र उक्त अध्ययन टोलीमा नेपालका विज्ञहरुलाई समेत समावेश गर्न आग्रह गरिएको उनले जानकारी दिइन् । ‘हाम्रो विज्ञ टोलीबाट अध्ययन भइरहेको छ । विदेशी एक्सपर्टहरुले पनि अध्ययन गरिदिउन् भन्ने सरकारको चाहना हो । जहाँ हामीले हाम्रो तर्फको उपस्थितिको पनि कुरा गरेका छौं,’ उनले भनिन् ।

भौगर्भिक अध्ययन गर्न निर्देशन

छलफलपछि समितिले मेलम्ची आयोजनामा भएको क्षतिको अध्ययन गर्न विज्ञ टोली बनाएर त्यसको दीर्घकालीन समाधान निकाल्न सरकारलाई निर्देशन दिएको हो ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सञ्चालनका लागि २१ वर्षदेखिको प्रयास र लगानी सुनिश्चित गर्न सिन्धुपाल्चोकस्थित बाढी÷पहिलो प्रभावित क्षेत्रको भौगर्भिक अवस्था अध्ययनका लागि विज्ञसहितको संरचना बनाउन समितिले निर्देश गरेको हो ।

समितिले आयोजनामा भएको क्षतिपछिको पुनर्निर्माणका लागि अन्तरमन्त्रालय समन्वय गर्न र त्यसका लागि आवश्यक बजेटको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा पथान्तरण गर्नुअघि त्यस क्षेत्रको जियोलोजिकल र हाइड्रोलोजिकल अवस्थामा विस्तृत अध्ययन गरेर मात्रै काम अघि बढाउन समितिले निर्देशन दिएको छ ।

यसैगरी, विकास तथा प्रविधि समितिले सिन्धुपाल्चोकस्थित बाढी पहिरो प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी प्रभावितहरुको उद्धार, राहत र बस्ती स्थानान्तरणको काम गर्न निर्देश गरिएको छ ।

‘अहिले पनि सुख्खा पहाडसहितको गेगर झरिरहेको सो क्षेत्रमा अत्याधिक जोखिमको अवस्था रहेकाले यस क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी विस्थापित भएकाहरुको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाको साथै प्रभावित बाढी पहिरोको उच्च जोखिममा रहेका बासिन्दाहरुको सुरक्षित व्यवस्थापन/स्थानान्तरणको व्यवस्था मिलाउन समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देश गर्दछ,’ समितिले दिएको निर्देशनमा उल्लेख छ । Source: onlinekhabar.com

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.