जुर्मुराउँदै बन्दीपुर, थपिँदै पुर्वाधार

उपेन्द्र खनाल

तनहुँ । विस्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण थला परेको बन्दीपुरको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको छ । लामो समयको बन्दाबन्दीका कारण प्रभावित बनको यहाँको पर्यटन क्षेत्र आन्तरिक पर्यटनको चहलपहल बढेसँगै तंग्रिन थालेको हो । लकडाउन अघि स्वदेशी तथा विदेसी गरी दैनिक हजारौंको संख्यामा पर्यटकहरु बन्दीपुर आउने गर्थे । ‘त्यतिखेर आन्तरिक र बाह्य पर्यटक भित्र्याउन होटेल व्यवसायीलाई हम्मेहम्मे पथ्र्याे ।’ विगतका दिन सम्झदै बन्दीपुर पर्यटन विकास समितिका पुर्व अध्यक्ष बैंस गुरुङ भन्छन्, ‘तर पछिल्लो समय फैलिएको कोभिडका कारण यहाँको पर्यटन क्षेत्र धारासायी बन्यो ।’

उनका अनुसार बन्दाबन्दी हुनु अघि बन्दीपुरका होटलमा पर्यटक भरिभराउ हुन्थे । पर्यटकको संख्यामा वृद्धि भएपछि व्यवसायी उत्साहित भए । पर्यटकको भीड बढेपछि बन्दीपुरमा नयाँ–नयाँ होटेलसमेत निर्माण हुन थाले । कतिपयले बनाउँदै थिए । उनले पनि ८ करोड खर्च गरी सुविधा सम्पन्न होटेल बनाए । ‘निर्माण पूरा हुन नपाउँदै लकडाउन भयो जसले गर्दा समस्यामा परियो ।’ उनले भने ।

बन्दाबन्दी खुकुलो भएसँगै बन्दीपुर आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । कोरोना कहरका बीच थला परेको यहाँको पर्यटन क्षेत्र विस्तारै सलबलाउन थालेको छ । पाहुना कुरेर बसिरहेका व्यवसायी पर्यटकको चहलपहल बढेपछि उत्साहित भएका छन् । बन्दीपुरलाई ‘पहाडकी रानी’ भन्ने गरिन्छ । यहाँको प्राकृतिक सुन्दरताले गर्दा पर्यटकको मन लोभ्याउने गरेको हो । कुनै बेला होटलमात्र नभै होमस्टेमा पनि बस्नको लागि ठाउँ पाउन मुस्किल पथ्र्यो । पाहुना आएपछि यहाँको होटेल तथा होमेस्टेलेमात्र फाइदा लिन्थेनन् । छिमेकी गाउँका स्थानीयलाई समेत फाइदा पुग्थ्यो ।

‘होमस्टेमा आएका पाहुनालाई अर्गानिक परिकार खुवाउनुथ्र्यो । तर हामीले आफैं उत्पादन गर्न भ्याउँदैनथ्यौ ।’ बन्दीपुर सामुदायिक होमस्टेकी अध्यक्ष दीलकुमारी राना भन्छिन्, ‘छिमेकी गाउँमा उत्पादन भएका सागसव्जी, लोकल कुखुरा तथा कोदो होमस्टमै खपत हुन्थ्यो कृषकले पनि बजार भाउ पाउँथे हामीलाई पनि सहज हुन्थ्यो ।’

यतिखेर बन्दीपुरका होमस्टे बन्द छन् । कोरोना महामारीका कारण होमस्टे पूर्ण रुपमा कहिलेबाट सञ्चालन हुन्छन् भन्ने यकिन छैन । बन्दीपुरमा नेवार, गुरुङ, ब्राहमण लगायतका जातजातिको बसोबास छ । विभिन्न जातजातीको कला संस्कृति र परम्परागत घरले यहाँ आउने पर्यटकलाई मोहित गराउँछ । फुर्सदको समयमा रिफ्रेस हुन पर्यटकले बन्दीपुरलाई रोज्ने गर्छन् ।

पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तर, मानिस होटेलमा बस्न भने डराउने गर्छन् । ‘अहिले पर्यटकको विस्तारै आगमन बढेको छ तर, उनीहरु बास बस्न डराउँछन्, सबै व्यवसायीले सावधानी अपनाएर व्यवसाय सञ्चालन गरेका छौं । फेरि पनि पर्यटक दिउँसो घुमफिर गरी साँझ घर फर्कन्छन् ।’ बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान गुनासो गरे ।

बन्दीपुर पर्यटकीय क्षेत्र भएकाले पनि गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । यहाँ आउने पर्यटकलाई अझै मनोरन्जन दिलाउने उद्देस्यसहित गाउँपालिकाले २ करोडको लागतमा टुँडिखेलमा सीसैसीसाको भ्युटावर निर्माण गर्न लागेको छ । त्यस्तै गरी चीनको जस्तै ग्रेटवालको झल्को दिने गरेर मिनी ग्रेटवाल निर्माणको काम भइरहेको छ । अहिलेसम्म ११ सय मिटर पर्खाल लगाउने काम भएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत महेस सुवेदीले बताएका छन् ।

‘२ वर्ष अगाडिदेखि निर्माण थालिएको हो, अहिलेसम्म ७० लाख खर्च भइसकेको छ ।’ उनले भने, ‘यो वर्ष ३० लाख बजेट विनियोजन गरेका छौं बन्दीपुरको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन मिनी ग्रेटवाल निर्माण गरिएको हो ।’ त्यस्तै गाउँपालिकाले साइकल लेन निर्माणको काम समेत अघि बढाएको छ ।

प्रवेशद्वारमै ‘पर्यटन सूचना केन्द्र’

बन्दीपुरमा पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ । बन्दीपुर घुम्न आउने पर्यटकको सहजताको लागि गाउँपालिकाले पर्यटन सूचना केन्द्र निर्माण गर्न लागेको अध्यक्ष पूर्णसिंह थापाले बताए । बन्दीपुर पर्यटनको प्रचुर सम्भावना भएको ठाउँ हो । पछिल्लो समय यहाँ आउने पर्यटकको संख्या बढेको छ । यहाँबाट हिमालको दृश्य राम्रोसँग देखिन्छ ।

चिसोको समयमा पनि बिहानै घाम लाग्छ । गर्मीमा चिसो हावा चल्छ । त्यसकारण यो ठाउँमा पर्यटक आउने गर्छन् । यहाँ कलात्मक प्राचीन शैलीका घर छन् । यहाँको बाटोमा बिछ्याइएको ढुंगाले पर्यटकको मन खिच्छ । त्यस्तै बजार क्षेत्रमा जडान गरिएको मेटालिक पोलले थप सौदर्य बढाएको छ । बन्दीपुरको कला संस्कृति तथा परम्परागत घर यहाँको आकर्षण हो ।

‘बन्दीपुर तनहुँको मात्र नभई गण्डकी प्रदेशको पोखरापछिको धरै पर्यटक आउने ठाउँको रुपमा परिचित छ ।’ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी भन्छन्, ‘यहाँ पर्यटकको आगमन बाक्लै हुन्छ । सूचना केन्द्र निर्माण भएपछि पर्यटकलाई सजिलो हुन्छ । बन्दीपुरको प्रवेशद्धारमै पर्यटन सूचना केन्द्र राख्ने तयारी छ । पर्यटक कहाँबाट आएको हो । कति दिन बस्छन् । उनीहरुको तथ्यांक राखिन्छ ।’

सूचना केन्द्र निर्माण पश्चात बन्दीपुरमा घुम्न जाने ठाउँहरु के के छन्, कहाँ–कहाँ छन् सम्पुर्ण जानकारी सूचना केन्द्रमा राखिने भएकाले उनीहरुलाई सहज हुने सुवेदीको विश्वास छ । गाउँपालिकाले पर्यटन सूचना केन्द्र निर्माणको लागि १५ लाख विनियोजन गरेको छ । अब छिट्टै निर्माणको लागि प्रक्रिया अगाडि बढाउने तयारी गाउँपालिकाको छ । गत वर्ष स्वदेशी तथा विदेशी गरी डेढ लाख पर्यटकले बन्दीपुर अवलोकन गरेको भएपनि यो वर्ष कोभिड– १९ का कारण भएको बन्दाबन्दीले बन्दीपुरको पर्यटन क्षेत्र प्रभावित बनेको छ ।

ganthan.com

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker