Trending

हल्लाकाे पछि नलाग्नुस, ढुक्कसँग भाइटिका लगाउनुस

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ ।

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले शुक्रबार विज्ञप्ति जारी गरी मंसिर १५ गतेसम्म चान्द्रमास अनुसार कार्तिक शुक्ल पक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका लगाउन आह्वान गरेका छन् । वैदिक सनातन हिन्दू धर्मावलम्बीले चान्द्रमास अनुसार नै चाडपर्व मनाउने गर्छन् । मंसिर १५ गतेसम्म कार्तिक शुक्ल पक्ष भएकैले विवाहको लगन १६ गतेपछि मात्र दिइएको पनि उनले जानकारी दिए ।

यस वर्ष गत आश्विन महिनामा अधिकमास (मलमास) परेकाले चाडपर्व पछि सर्दा भाइटीका मंसिर १ गते परेको हो । भाइटीका दाजुभाइले दिदीबहिनीबाट र दिदीबहिनीले दाजुभाइबाट कुल परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर एकापसमा गच्छे अनुसार मीठा परिकार, उपहार एवं दक्षिणा दिएर आपसी सद्भाव वृद्धि गर्ने पर्व भएकाले त्यसै अनुरुप मनाउन पनि समितिले आह्वान गरेको छ ।

Back to top button