गोरखा, १३ भदौ

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ३ तान्द्राङमा डण्डप्रसाद पुडासैनी मृत्यू भएको १३ औँ दिनकाे चोख्खिने कार्यक्रममा तनाब उत्पन्न भएपछि प्रहरी पचिालन गरिएको छ ।
सबिन परियारले आफु मृतक पुडासैनीको छोरा भएकाले उनको चोख्खिने कार्यक्रममा सहभागी हुन पाउनुपर्ने भन्दै केही युवाहरुको साथ पुडासैनीको घरमा पुगेपछि तनाब भएको स्थानीयले बताएका छन् । पुडासैनीका छोरा काजक्रिया गरिरहेको अवस्थामा अन्तिम दिन घरमा आएर तनाब दिएको भन्दै तान्द्राङका युवाहरु रुष्ट छन् ।

सबिन परियार सहित उनका पक्षधरहरु भने सबिन पनि पुडासैनीको छोरा भएकाले उसलाई पनि सहभागी गराउनुपर्ने बताईरहेका छन् । दुबै पक्ष बिच बिवाद भएपछि आरुघाटबाट प्रहरी निरीक्षकको कमाण्डमा अवस्था बुझ्न प्रहरी परिचालन गरिएको एसपी सुरेन्द्र गुरुङले बताए ।

सबिन परियारले आफु पुडासैनीको छोरा भएको तर नागरिकता बनाउँदा झुक्काएर आफु सानो छँदा प्याउते दमैको नामबाट नागरिकता दिएको बताउँदै आएका छन् । नागरिकता पुडासैनी पिता कायम गरेर चाहिने माग उनको छ । पुडासैनीले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

पुडासैनीको मृत्यू भएको दिन दाखबत्ती आफुले पनि दिन पाउनुपर्ने भन्र्दैै परियार दाहासंस्कार गरेको ठाउँमा पनि पुगेका थिए ।

स्थानीयले सम्झाई बुझाई उनलाई फिर्ता पठाएको र कानुनी प्रक्रियाबाट पाउने अधिकारका लागि लड्न तर धर्मसंस्कृती माथि हस्तक्षेप नगर्न अनुरोध गरेपछि उनी फर्किएका थिए । त्यतीबेला पनि प्रहरीले सम्झाई बुझाई गरेको थियो ।