जिल्ला अस्पताल गोरखामा लामो समय देखि विशेषज्ञ चिकित्सकहरु नहुँदा विरामी मर्कामा

जिल्ला अस्पताल गोरखामा लामो समय देखि विशेषज्ञ चिकित्सकहरु उपलब्ध भएका छैनन् । २०६९ सालमा भदौंबाट ५० शैयामा स्तरोन्ती भएको यस अस्पतालमा ७ जना विशेषज्ञहरुको दरबन्दी कायम भएको थियो । ५० शैयाको अस्पतालमा हुनुपर्ने सर्सरी, बालरोग, स्त्रीरोग, हाडजोर्नी, एनेस्थिेसिया, रेडियोलोजी, मानसिक रोग लगायतको विशेषज्ञ डाक्टरको दरबन्दी रित्त भएको वषौं हँुदा पनि हालसम्म पदपूर्ती हुन सकेको छैन ।
सरकारले विशेष डाक्टरको दरबन्दी दिएपनि डाक्टर नपठाएपछि अस्पतालले पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानसँग सहकार्य गरी स्त्रीरोग र बालरोग विशेषज्ञहरु उपलब्ध गराएको छ । ‘उहाँहरु ३/३ महिनामा पोस्टिङमा आउनुहुन्छ’ उनले भने ‘उहाँहरु मार्फत आमा सुरक्षा कार्यक्रम र बालरोग विशेषज्ञ सेवा नियमित रुपमा सञ्चालन भइरहेको छ ।’ सोही अनुरुप स्त्री तथा प्रसुती सेवा र बालरोग सम्बन्धी सेवाका लागि जिल्ला बाहिर जानु पर्ने अबस्था नरहेको अस्पताल प्रशासनको दाबी छ । विशेषज्ञ डाक्टर नहुँदा अन्य सेवा लिनका लागि भने सेवाग्राही बाहिर जिल्ला जानु पर्ने अवस्था छ । ‘अन्य दरबन्दीमा खासै समस्या छैन जनरल सेवा नियमित रुपमा सञ्चालन भइरहेको छ’ उनले भने ‘तर उहाँहरु नहुँदा बालरोग र स्त्रीरोग बाहेकका विशेषज्ञ सेवाभने उपलब्ध हुन सकेको छैन ।’
जिल्ला अस्पतालमा १ जना मेडिकल सुपरिटेन्डेन सहित ७ जना बिशेषज्ञ चिकित्सक, ४ जना मेडिकल अफिसर, एक जना डेन्टल, ८ जना स्टार्फ नर्स र ४ जना अनमीको दरबन्दी छ । यसैगरी ५ जना हेल्थ असिस्टेन, एक रेडियोलोजी, नायव सुब्बा र कम्प्युटर अपरेटरको दरबन्दी पनि खाली छ । ‘हामी कहाँ चिकित्सक हुनुहुन्छ, मेडिकल अफिसर ८ जना हुनुहुन्छ, दुईजना विशेषज्ञ हुनुहुन्छ, दाँतको एक जना डाक्टर पनि कार्यरत हुनुहुन्छ, एमजिडिपी हुनुहुन्छ’ उनले भने ‘११/१२ जना डाक्टर त अहिले पनि हुनुहुन्छ तर दरबन्दी अनुसारका विशेषज्ञ नहुनुभएको हो ।’
दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक उपलब्ध हुने हो भने जटिल खालका स्वास्थ्य उपचार पनि जिल्लामै हुने अस्पतालका अन्य डाक्टरहरु बताउँछन् । अहिले सुत्केरी गराउने बाहेक अन्य रोगको अपरेसनका लागि जिल्ला बाहिर पठाउनुपर्ने अवस्था छ । डाक्टर सुचिता अमात्य, हेल्थ असिस्टेन कृष्ण ढकालले ढाड भन्दा तल लठ्याउने विशेष तालिम लिएको र स्त्री रोग विशेषज्ञ उपलब्ध भएकाले सुत्केरी गराउने अपरेस गर्न भने समस्या नरहेको अस्पताल श्रोतको भनाई छ । रिक्त विशेषज्ञ डाक्टरको पदपूर्ती गराउनका लागि पहल भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पुरुषोतम अर्यालले बताएका छन् । ‘अब छिट्टै केही विशेषज्ञ चिकित्सक आउँदै हुनुहुन्छ’ उनले भने ‘दरबन्दी अनुसार डाक्टर ल्याउने प्रयासमा हामी छौं ।’ जसअनुसार आगामी महिनामा ९ औं तहका एक हाडजोर्नी विशेषज्ञ ल्याउने तयारी भइरहेको उनले बताए । देशभरका अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी खाली रहेको भन्दै उनले स्वास्थ्य मन्त्रालय र विभागसँग समन्वय भइरहेको बताए । ‘हामीले स्वास्थ्य सेवा विभागसँग निरन्तर सम्र्पक गरिहेका छौं’ उनले भने ‘छिट्टै डाक्टर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त भएको छ, आशा गरौं जिल्लाले अब विशेषज्ञ चिकित्सक पाउँछ ।’ जिल्ला अस्पताल गोरखाका पूर्व मेडिकल सुपरिटेन्डेन समेत रहेका स्वास्थ्य सेवा विभागका निर्देशक डाक्टर गुणराज लोहनीले गोरखालाई थप २ जना विशेषज्ञ चिकित्सक खटाउने आस्वसन समेत दिएको उनले बताए ।

साभार ः gorkhasamachar.com बाट

Back to top button