‘उच्चस्तरीय सम्पत्ति छानवीन आयोग’ गठन गर्न सरकारसँग माग

नागरिक समाजका अगुवाहरुले भ्रष्टाचार नियन्त्रणका लागि ‘उच्चस्तरीय सम्पत्ति छानवीन आयोग’ गठन गर्न सरकारसँग माग गरेका छन् । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजले आइतबार प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै भ्रष्टाचार नियन्त्रणका लागि उच्च स्तरीय सम्पत्ति छानवीन आयोग गठन गर्न माग गरेका हुन् । भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसर पारेर प्रधानमन्त्री ओलीलाई भेटन सिंहदरबार पुगेका समाजका पदाधिकारीहरुले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । भ्रष्टाचारको डरलाग्दो अवस्थाबाट मुलुकलाई जोगाउन तत्काल उच्चस्तरीय सम्पत्ति छानवीन आयोग गठन गर्न सरकारसँग माग गरिएको भ्रष्टाचार विरुद्धका अभियन्ता केदार खड्काले जानकारी दिए।
सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको सम्पत्ति छानवीन गरेपछि मात्रै भ्रष्टाचार नियन्त्रण गर्ने प्रयास सफल हुने समाजको निष्कर्ष छ । समाजले प्रदेश र स्थानीय तहमा भ्रष्टाचार हुन नदिन तत्काल कानुनी संरचना तयारी पारी कार्यान्वयनमा लैजान पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएको छ । सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको निती लिएपनि त्यसलाई सशक्त ढंगले कार्यान्वयनमा ल्याउन नसकेकोमा समाजको असन्तुष्टि छ ।
यता, प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि आफू प्रतिवद्ध रहेको बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि आफूले असहिष्णु निती लिएको र त्यसलाई प्रभावकारी रुपमा कार्वान्वयन गर्न पूरै शक्तिका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले देश बनाउने अभियानमा सरकार जुटेको उल्लेख गर्दै त्यसमा साथ दिन सबैलाई आह्वान गरेका छन् ।

Back to top button