मनकामनाका सुन्तलालाई स्टिकर

अरू ठाउँका सुन्तला मनकामनाको भन्दै बिक्री हुन थालेपछि गोरखामा स्टिकर टाँसेर मात्रै बजारमा पठाउने गरिएको छ ।

पातलो बोक्रा, रसिलो र स्वादिलो हुने भएकाले मनकामना क्षेत्रमा उत्पादित सुन्तला लोकप्रिय छ । ‘यो वर्ष पनि बोटबाट टिपेको सुन्तलामा किसान आफैंले स्टिकर टाँस्दै बेचेका छन्,’ मनकामनाको ढाँडबारीका किसान ऋषि आलेले भने, ‘सुन्तलामा स्टिकर टाँसेर पठाउँदा बजारमा पनि सजिलो छ ।’ कृषकहरूलाई स्टिकर उपलब्ध गराउन ढाडबारी कृषि सहकारीले सघाएको छ ।

‘तीन वर्षअघि ५/६ लाख स्टिकर किनेका थियौं, त्यसैले अझै पुगेको छ,’ उनले भने, ‘यो वर्षलाई पनि स्टक स्टिकरले लगभग पुग्छ ।’ बारीमै स्टिकर टाँसेर बजारमा पठाउँदा मनकामनाको सुन्तलाको पहिचान स्थापित भएको उनले बताए । सहकारीमा आबद्घ १ सय २५ किसानले स्टिकर टाँस्छन् ।

यसपटक मनकामना क्षेत्रमा मात्र सुन्तला उत्पादन ६५ प्रतिशतले वृद्घि भएको किसानको भनाइ छ । ‘यो वर्ष राम्रो वर्षा भएकाले सुन्तला मज्जाले फलेको छ,’ ढाँडबारीका शिवबहादुर रानामगरले भने ।

हावापानी सुहाउँदो मानिने मनकामनामा क्षेत्रमा मात्र ९८ हेक्टरमा सुन्तला खेती हुने गरेको छ । ‘पारिलो घाम, सूर्यको प्रकाश पर्याप्त पाउने भयो । बोक्रा पनि पातलो हुन्छ, भित्र बढी रस स्वादिलो पनि मिठो हुँदा ग्राहकको रोजाइमा पर्ने गरेको हो,’ गाउँपालिकाका कृषि शाखा प्रमुख विजय पौडेलले भने ।

सुन्तला कृषलाई प्रोत्साहन गर्न सहिद लखन गाउँपालिका ३ रामशाहघाटमा गत शनिबार तेस्रो सुन्तला महोत्सव गरिएको थियो । तीन वर्षदेखि आयोजना हुँदै आएको महोत्सवमा यसपटक ५२ जना कृषक सहभागी भए । सुन्तलाको पकेट क्षेत्र मानिएको सहिद लखन गाउँपालिकामा गत वर्षको तुलनामा यसपटकको उत्पादन दोब्बर हुने अनुमान छ ।

उक्त गाउँपालिकाका वडाहरूबाट गत वर्ष १ करोड २४ लाखको सुन्तला बिक्री भएको थियो । यो वर्ष तीन करोडको कृषि शाखा प्रमुख पौडेलले बताए । ‘६० देखि ७० रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ । सुरुवातमै यति मूल्य पाउनु निकै राम्रो हो,’ उनले भने, ‘अन्तिमतिर सुन्तलाले अझै भाउ पाउँछ ।’ गत वर्ष उत्पादन घटेपछि पकेट क्षेत्र मानिएका मनकामना, ताक्लुङ र ताङलीचोक क्षेत्रका किसान निरास थिए । मास्किछापका खम्बसिं थापाले भने, ‘पोहोर ५० हजारको सुन्तला बेचेको थिएँ । अहिले एक लाखको बिक्री भइसक्यो ।’

किसानलाई प्रत्साहन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जात फलफूल जोन कार्यक्रम पनि लागू भएको छ । सुन्तला कृषक समुहलाई सूचीकृत गर्ने, बोट छाँटकाटका लागि आधुनिक औजारहरू उपलब्ध गराउने लगायतका कार्य उक्त परियोजनाअन्तर्गत भएको जोनका प्रमुख अजय अधिकारीले बताए ।

‘सुन्तला प्रशोधन गरेर अरू केही बनाउँछु भन्ने र नर्सरी स्थापना गर्ने किसानलाई अनुदान पनि दिन्छौं,’ उनले भने । जिल्लाभर ८ सय ६५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ ।

Back to top button