राज्यको आँखामा नपरेकाे लिगलिगकाेट

गोरखा । धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक दृष्टिकोणले निकै महत्वपुर्ण रहेको लिगलिगकोट राज्यको आँखामा कहीले पनि परेन ।

समुद्रीसतहदेखि ४ हजार ७ सय ९० फिटको उचाईमा अवस्थित लिग-लिग कोट पालुङटार नगरपालिका-२ आँपपिपलको खोल्ली गाउँमा पर्दछ ।

२ सय ४० वर्षसम्म शासन गरेको नेपालको शाह बंशको उद्गमस्थल मानिने लिगलिगकोट पर्याप्त सम्भाबना बोकेको एक ऐतिहासिक पर्यटकीय स्थल हो ।

नेपालमा गणतन्त्र आएपछि राजा हटाइए पनि पछिल्लो केही बर्ष देखि यहा राजा छान्ने परम्परा रही आएको छ ।

यहाँ राजा छान्ने परम्परा बि.स. १६०४ को बिजया दशमीको दिनदेखि सुरु भएको पाइन्छ । पछि स्थानीयको पहलमा नै पर्यटकीय गन्तव्यका लागि बर्षेनी दशैंको अवसर पारी लिगलिगे दौड आयोजना गरिरहेका हुन्छन् ।

लमजुङ र गोरखाको सिमानामा पर्ने चेपेघाटबाट सुरु भएको दौड ठाँटीपोखरी, छाप्थोक, बडडाँडा, साउनेपानी, बोहरा गाउँ, मैबल, दर्खेपानी, राई गाउँ, बिजुले डाँडा हुँदै लिगलिगकोट दरबारमा गएर सकिन्छ ।

दौडमा विजयी हासिल गर्नेलाई श्रीपेच लगाइदिने यहाँको पुरानो चलनलाई स्थानीयले निरन्तरता दिएका छन् । लिगलिग मगर भाषाको ‘लिङलिङ’ शब्दबाट आएको भन्ने इतिहास छ । मगर भाषामा लिङलिङको अर्थ सफा, सुन्दर, कञ्चन प्राकृतिक सौन्दर्य देखिनु भन्ने हो ।

लिगलिगकोटबाट देखिने मनास्लु हिमश्रङखलको मनोरम दृष्य, लमजुङको पर्यटकिय क्षेत्र राइनसकोट, लाली गुराँसको जंगल, लिगलिगकोटको पुराना दरबार, कोट, किल्ला, गढी, पुराना भग्नावशेष अनि नागबेली आकारमा बगेको चेपे नदिको मनोरम दृश्यले सबैको मन खिचिरहेको हुन्छ ।

नेपालमा दर्जनौ ठाउँहरुको गन्तब्य पहिचाहन हुन नसक्दा ऐतिहासिक पर्यटकिय स्थलहरु ओझेलमा पर्ने गरेका छन् । त्यी मध्यको एक हो लिगलिगकोट ।

गोरखाको लिगलिगकोट क्षेत्र निकै संभावना बोकेको स्थल हो । यहाँसम्म आइपुग्ने जो कसैले पनि यसको संरक्षणमा जुट्न आवश्यक रहेको बताउँछन् ।

लिगलिगकोटको टुप्पोबाट देखिने बौद्ध हिमाल, मनास्लु, हिमालचुली, गणेश हिमाल लगायतका दर्जन बढि हिमश्रङखलाहरुले पर्यटकको मन तान्न सक्ने लिगलिगकोटका स्थानीय बताउछन् ।

लिगलिगकोट विकास अभियानले पछिल्लो समय खानेपानीको धारा निर्माण, पाटी, रेलिङ र सिढीं लगायतका कामहरु गरेको छ । विगतमा यस क्षेत्रको विकासका लागि आवश्यक बजेट आएपनि हिजोआज भने खासै बजेट नआएको स्थानीय बताउछन् ।

बजेटको अभाबमा “लिगलिगकोटमा बर्षको एक पटक आयोजना गरिने दौड बाहेक अन्य कुनै काम गर्न नसकिएको लिगलिगकोट विकास अभियान बताउछ ।”

यस्तो छ लिगलिगकोट इतिहास

लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्तिलाई राजा छान्ने परम्परा वि.सं १६०४ को विजयादशमीको दिनदेखि सुरु भएको इतिहास पढ्न पाइन्छ ।

राजा छान्न पहिलोपटक भएको लिगलिगे दौडमा २० नकाटेका ठिटा दलसुर घलेमगर पहिला भई लिगलिगकोटको पहिलो राजा बनेको र उनले वि.सं १६०४ देखि १६१५ सम्म त्यहाँको राज्य गरेको इतिहास छ ।

तर “लिगलिगे दौड प्रतियोगिता हुने स्थानबारे पनि फरक भनाईहरु छन् ।”

वि.सं १६१६ मा दौडबाट घलेहरुलाई हराएर लमजुङका राजा यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाह लगलिगकोटको राजा भएको इतिहासमा छ ।

यहाँ श्रीकालिका माई, भुमे, भीमसेन र द्रव्यदेवीको स्थान, मूलकोटसहित पाँचवटा गढी, बुझ्न नसकिने केही शिलालेखहरू र बस्ने एउटा पाटी रहेको छ । तर यी लथालिङ्ग र भताभुङ्ग अवस्थामा रहेका छन् ।

शाह बंशले पनि वास्ता गरेन

शाह बंशहरुले नेपालमा यति लामो समयसम्म एक क्षत्र रुपले शासन ग¥यो तर शाह बंशीय राजाहरुको उद्गमस्थल लिगलिगकोट क्षेत्रले कहिल्यै परिवर्तन भने पाउन सकेन् ।

लिगलिगकोट विकास अभियानले यसको विकास गर्ने भनेर लागे पनि अरुकुनै निकायले खासै चासो नदेखाउदा भने अनुसार काम अगाडी बडाउन सकिएको छैन । यहाँ राज्यको नजर पुग्न सकेको छैन् । राज्यले खासै चासो न दिदा यो क्षेत्र लोप हुने हो की भन्ने चिन्तामा स्थानियबासीहरु छन् ।

उनिहरुले केही बर्षअघि संरक्षणको नाममा आएको केही रकमले लिगलिगकोटको प्रवेशद्धारको निर्माण गरेका छन् भने एउटा सानो पाटीको निर्माण गर्न भ्याएका छन् ।

सामाजिक पत्र बाट

Back to top button
Close