राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका ५२ प्राविधिकले लिए तालिम

गाेरखा,
पुनर्निर्माण कार्यलाई थप चुस्त दुरुस्त गतिमा अगाडी बढाउन भन्दै गोरखा जिल्लामा कार्यरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका ५२ इन्जिनियर तथा सब इन्जिनियरलाई एक हप्ते प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाई (भवन ) ले आयोजना गरेको तथा भारतसरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको सहकार्यमा एक हप्ते प्रशिक्षक प्रशिक्षण तालिमको आईतबार सम्पन्न गरिएको छ । तालिमको समापन गर्दै जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाई (भवन ) इकाई प्रमुख सिनियर डिभिजन इन्जिनियर सुनिता श्रेष्ठले तालिममा सिकेका ज्ञानलाई कार्य क्षेत्रमा कार्यान्वयन गरी पुनर्निर्माणको महान कार्यलाई गुणस्तरीय ढंगले सफल बनाउन आग्रह गर्नुभयो । तालिममा पुनर्निर्र्मांण क्षेत्रमा देखिएका निर्माण सम्बन्धी समस्यालाई हल गर्ने गरी इन्जिनियरलाई १५ जना विशेषज्ञले तालिम प्रदान गरेका थिए । तालिम इन्जिनियर दिनेश पौडेलले यस तालिमले पुनर्निर्माणका कार्यक्षेत्रमा कार्यरत प्राविधिकलाई गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने बताउनुभयो । साथै , प्रशिक्षण सहजिकरण गरेको नेपाल आवास पुनर्निर्माण परियोजनाले हाल गोरखा जिल्लाका ६ गाँउपालिका र २ नगरपालिकाका विभिन्न ४२ वडामा दक्ष प्राविधिहरुबाट सामाजिक प्राविधिक परामर्श प्रदान गर्दै आएको छ ।

Back to top button