लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत पालुङ्टारमा अभिमुखीकरण कार्यक्रम

रविन्द्र कंडेल
गोरखा, पालुङ्टार, १४ मंसीर ।
लैङ्गिक हिँसा र दुव्र्यवहार छैन हामीलाई भन्ने मूल नाराका साथ संसारभर मनाईंदै गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत पालुङ्टारमा अभिमुखीकरण कार्यक्रम गोरखाको पालुङटार नगरपालिकामा पनि सञ्चालन भइरहेको छ । नगरपालिकाकको आयोजना र इलाका प्रहरी कार्यालय ठाँटीपोखरी एवं स्वाँरा सघन गाउँ विकास केन्द्रको सहकार्यमा सञ्चालित अभियान अन्तर्गत आज नगरपालिकाको वडा नं. ७ स्थित श्री जीवन ज्योति मा.वि.मा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाकी उप प्रमुख एवं नगरपालिकाको न्यायिक समितिका संयोजक पम्फा बसेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख बसेलले समाज निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुका साथै हिंसा न्यूूनिकरणमा सवैले आ आफ्नो स्थानबाट जुटनुपर्ने बताउनुभयो । साथै उहाँले नगरपालिकामा भएको न्यायिक समितिको क्षेत्राधिकार, यसले गर्ने कार्य एवं हालसम्मका कार्यप्रगतीको विषयमा बताउनुभएको थियो । कार्यक्रममा पालुङ्टारका न्यायिक समितिका सदस्य दिलेन्द्र बहादुर देवकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । जसमा महिला विकास तथा बालबालिका शाखाकी प्रमुख इन्दिरा न्यौपानेले कार्यक्रमको औचित्य पुष्टि गर्नुभएको थियो । सो अवसरमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी नायब निरीक्षक मोहन कुमार खडकाले सडक सुरक्षा तथा हिंसाका प्रकार र त्यसलाई न्यूनिकरण गर्ने लगायतका विषयहरुमा प्रस्तुतिकरण राख्नुभएको थियो । सोही क्रममा नगरपालिकाका कानुनी सल्लाहाकार अधिबक्ता दिपक कुमार श्रेष्ठले भाद्र १ गतेदेखि लागू भएको मुलुकी देवानी (संहिता) ऐन २०७४ तथा अपराध संहिताबारे प्रस्तुति राख्दै नगरपालिकाको न्यायिक समितिको क्षेत्राधिकार र काम कर्तव्यबारे जानकारी दिनुभएको थियो । कार्यक्रम अत्यन्त फलदायी भएको र यस्ता कार्यक्रमहरुले जनचेतना फैलाउन मद्धत गर्ने भन्दै विद्यालयका सहायक प्रधानाध्यापक ताराबहादुर कुुमालले धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छात्र छात्राहरु तथा शिक्षकहरुको समेत रहेको थियो ।
यस्तै प्रकारको अभिमुखीकरण कार्यक्रम नगरपालिकाका अन्नपूर्ण मा.वि खोप्लाङमा १७ गते, जनता मा.वि. आँपपिपलमा २१ गते, अमर ज्योति मा.वि. लुईंटेलमा २३ गते र मिरकोट मा.वि. मिरकोटमा २४ गते सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।
उक्त अभियान मंसिर ९ गतेदेखि संसारभर सञ्चालन भइरहेको छ भने २४ गते अन्त्य हुनेछ ।

Back to top button