जोर बिजोर प्रणालीको अबज्ञा गर्न आग्रह

काठमाडौंः शुक्रबारदेखि सुरू हुने एसिया प्यासेफिक समिटका लागि काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले ४ दिन सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको छ । आजबाट लागु भएको जोरबिजोर प्रणालीमा आज १३ गते बिजोर नंबरका सवारी मात्र चलाउन पाइने छ ।

उक्त समिटमा तीन देशका राष्ट्रपतिसहित ४५ देशका ५६७ जना पाहुना आउने भएपछि उनीहरूको आवतजावतलाई सहज बनाउन ट्राफिक प्रहरीले नागरिकका सवारीमा जोरबिजोर प्रणाली लागू गरेको हो । उपत्यकामा मात्रै १० लाख भन्दा बढी सवारी रहेका छन् । यसैबीच जोर विजोर प्रणाली लगाएको भन्दै युथ कंग्रेसले अवज्ञा गर्ने घोषणा गरेको छ । गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले आजदेखि १६ गते आइतबारसम्म जोर बिजोर प्रणाली लागू गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।ठूलो संख्यामा विशिष्ट विदेशी पाहुना आउने भएकाले समिट क्रममा सवारी जाम नहोस् भनेर जोर बिजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ बिहिबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न पाउनेछन् ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । समिटमा सहभागी हुन फिलिपिन्सकी उपराष्ट्रपति लेनी रोब्रेडो बुधबार काठमाडौं आइपुगिन् । म्यानमारकी विदेश मन्त्री आङ सान सुकी आज नेपाल आउँदैछन् । उनले राष्ट्रपति, प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ ।

आजै नै कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आउनेछन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट्ने कार्यक्रम छ । यी दुबै जनाको भ्रमणका सरकारले सद्भावना भ्रमण भनेको छ। उनीहरू दुबै जना शुक्रबार स्वदेश फर्किनेछन् । यसैबीच युथ कांग्रेस नेपालले यातायातका साधनमा लगाएको जोर बिजोर प्रणालीको अबज्ञा गर्न आह्वान गरेको छ। युथ कांग्रेसले मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुने एशिया प्याशिफिक समिटलाई लक्षित गरेर बिहीबारदेखि घोषणा गरिएको जोर बिजोर प्रणालीको अबज्ञा गर्न आग्रह गरेको हो ।

 

Back to top button