पाँच दिनमा ३० लाखको आर्थिक कारोबार

दमौली, ४ मंसिर
तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको पाँचौ दिनसम्मा ३० लाखको आर्थिक कारोबार भएको छ । महोत्सवको मध्यकालमा ३ लाख दर्शकले अवलोकन गरेको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका सचिव एवं महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।
महोत्सवको पहिलो दिनमा झाँकी सहितको सहभागिता उल्लेख्य भएको थियो भने शनिबार विदाको दिनमा दर्शकको घुइचो लागेको उनले बताए । दर्शक बृद्धि हुँदा आर्थिक कारोबार समेत बृद्धि भएको उनले बताए । महोत्सवको चौथो दिन हरिबोधनी एकादशीमा दर्शकको भिड लागेको थियो उनले भने । महोत्सवमा मंगलबार अनिता गुरुङ्ग, सरिता सारु मगर, रञ्जिता थापा, शंकर परियार, यमविक्रम थापा लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । त्यस्तै मंगलबारदेखि लोकदोहोरी प्रतियोगिता समेत सुरु भएको आयोजकले जनाएको छ ।
“अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ ! भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ” भन्ने नाराको आयोजित महोत्सवमा मंगलबार चर्चित लोक दोहारी गायिका शर्मिला गुरुङ्गले फुलको थुङ्गा, मेरो माया छ भने, धयँरी रसैले, निरमाया लगायतको सांगितिक प्रस्तुति राखेकी थिइन् । त्यस्तै गायक राजन गुरुङ्गले उही खोलीको पानी, पिडा धेरै भो, आकाशै माथि लगायतको गीत प्रस्तुत गरेका थिए । त्यस्तै रुपा सुनार ‘छुच्ची नानी’ले दर्शकलाई पहिलो पटक दमौलीमा आफ्नो कलाकारीता देखाएकी थिइन् ।
आदिवासी जनजातिको जीवन्त संग्राहलय निर्माण गर्ने उद्देश्यले आयोजित महोत्सवमा जल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले बताइन् ।
महोत्सवमा सांस्कृतिक प्रर्दशनी, सांस्कृतिक नमूना ग्राम भ्रमण, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलबिहार गर्ने व्यवस्था गरिएको बताइएको छ । महोत्सवमा विभिन्न आदिवासी जनजातिका खाना, जानकारीका लागि पुस्तक प्रदर्शनी, कृषि उत्पादनका विक्री तथा प्रर्दशनका स्टल, विभिन्न व्यापारीक सामग्रीका प्रदर्शनी एवं विक्री कक्ष, कम्युटर, सञ्चार एवं शैक्षिक प्रदर्शनी तथा विक्री कक्ष रहेको छ । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ । चर्चित गायक शिव परियार, शंकरबिरही गुरुङ्ग, बसन्त विक, हिमकुमार थापा, मनमाया वाइबा, ज्योति लोहनी लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ ।

Back to top button