तनहुँ लोक आवाज २०७५ सिजन २ को उपाधी मन्दिरालाई

मंसिर, ४ खैरेनीटार
तनहुँ लोक आवाज २०७५ (सिजन२) को उपाधी मन्दिरा थापाले जितेकी छन् । तनहुँ कलाकार संघले आयोजना गरेको मौलिक लोक गित गायन प्रतियोगिताको सोमबार भएको फाईनल प्रतिष्पर्धामा ११ प्रतियोगिलाई पछि पार्दै थापाले लोक आवाजको उपाधी प्राप्त गरेकी हुन् । भिमाद ९ कटनछापकी थापाले नगद ३० हजारको साथमा विभिन्न पुरस्कारहरु प्राप्त गरिन् । यस्तै लोक आवाजमा घिरिङ्गकी बोमाया थापा द्धितीय भएकी छन् भने भिमादका निशान सुनार तृतीय र ऋषिङ्गकी शान्तीमाया थापा मगर चतृर्थ बन्न सफल भएका छन् । उनीहरुले क्रमस नगद १५ हजार, १० हजार ५ हजार रुपैयाँ प्राप्त गर्न सफलको आयोजकले जनाएको छ ।
मौलिक लोक गित संरक्षणको लागि कलाकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मालिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले देशको संस्कृती संरक्षणका लागि कलाकार संघले प्रशंसनिय कार्य गरेको उल्लेख गरे । उनले गण्डकी प्रदेश विभिन्न सस्कृतीले पूर्ण रहेको जानकारी दिदै सरकार समेत यहाँको सस्कृती संरक्षणका लागि सकरात्मक रहेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका साँसद डोबाटे वि.क, जिल्ला समन्वय समिति तनहुँका सभापति शान्तिरमण वाग्ले लगायतका वक्ताहरुले कलाकारहरु नै सस्कृती संरक्षणमा लाग्नु पर्नेमा जोड दिदै जिल्लामा हुने मेला तथा महोत्सवहरुमा स्थानिय कलाकारहरुको स्थान सुरक्षित हुनु पर्ने बताए ।
शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा आयोजना गरिएको कार्यक्रममा बरिष्ठ लोक गायक तथा दोहोरी गित प्रतिष्ठान नेपालका सस्थापक अध्यक्ष अमर विरही गुरुङ्गले आफ्नो चर्चित गितहरु प्रस्तुत गर्दा दर्शकहरुले नाचेर साथ दिए । कलाकार संघको सम्मान समेत ग्रहण गर्दै गुरुङ्गले सलल बग्यो गण्डकी र चर्चित लोक गायिका विमा कुमारी दुराले सम्झी फर्क साइला दाई, लमजुङ्ग तुर्लुङ्गकोट, फुल्यो निमपत्ता लगायतका गितमार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिन् । यस्तै कार्यक्रममा लोक गायक विन खातीले मिर्मिरेको घाम, हङ्गकङ्ग मलाए, दियो कलश लगायतका गित प्रस्तुत गरेका थिए भने गायक सुनिल महत, शम्भु थापा, सन्तोष बगर लगायतले आफ्नो गितहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा तनहुँका प्रगतिबादी लोक सर्जक दिलिप कुमार श्रेष्ठलाई यस वर्षको स्रष्टा सम्मान मार्फत सम्मानित गरिएको थियो ।
कलाकार संघका अध्यक्ष याम सागर विकले कलाकारहरुको अधिकार स्थापित गर्दै अग्रज कलाकारहरुलाई सम्मान र अनुज कलाकारहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमहरुलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताएका थिए ।
लोक आवाजका निर्णायकमा चर्चित सर्जक, संगितकार तथा गायक दिवान किनार, खड्ग गन्धर्व, रञ्जिता गुरुङ्ग, कृष्ण प्रसाद गौतम र केसीमाया रामदाम रहेका थिए ।
गत भाद्र १६ गते देखी सुरु भई विभिन्न चरण पार गर्दै अन्तिम चरणमा १२ जना कलाकारहरुले उपाधीलाई आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

Back to top button