एकादशी मेलामा झडप, सवारी साधनमा समेत ताेडफाेड

गोरखा, ३ मंसीर
धादिङ्ग र गोरखा जिल्लाको सिमानामा पर्ने बुंकोट घाँटमा एकादशी मेलामा युवाहरु बिच झडप हुदाँ १ जना प्रहरी घाईते भएको छ भने ४ मोटर साईकल र ३ बोलेरोमा समेत क्षति पुगेको छ ।
जात्रा लागि रहेको बेला एक्कासी गोरखा तर्फका कमल कुमालले क्यामुनटारबाट केही युवाहरु लिएर धादिङ तर्फका युवाहरुलाई आक्रमण गरे पछि जात्रामा ठुलै झडप भएको थियो । झडपमा धादिङ तर्फका असई समेत घाईते भएको छ । उत्त घटनामा गोरखाको क्यामुनटारमा पार्किङ्ग गरेर राखीएको ४ वटा मोटर साईकल र ३ वटा बोलेरो जिपमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
सोमबार बिहान २ः३० देखी ३ बजे सम्म भएको उत्त झडपमा परी के–कति क्षति तथा को–को घाईते भएका छन भन्ने बारेमा बुझ्न बिहानै देखी धादिङ र गोरखा जिल्ला बाट ठुलो संख्यामा प्रहरी परिचालन भएको छ । प्रहरीले घटनामा संलग्नहरुको ब्यापक रुपमा खोजी गरी रहेको छ ।
दुवै समूहको युवाहरु बिच झडपमा ढुङ्गा हाना हान भएको स्थानियले बताए । गोरखा र धादिङ जिल्लाबाट सुरक्षाका लागि सामान्य प्रहरी परिचालन हुदाँ यो घटना भएको स्थानियको आरोप छ । बर्षेनी एकादशी जात्रामा ठुलो संख्यामा युवाहरुको उपस्थिती हुने जाड रक्सी खाएर झै झगडा गर्ने गर्दछन । जात्रामा लाखौंको जुवातासको खेल समेत हुने गर्दछ ।
घटनामा संलग्न कोही कसैलाई पनि दुवै जिल्लाको प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । स्थानियले दिएको जानकारी अनुसार ७ देखी ८ वटा मोटर साईकलमा क्षति पुगेको छ । धादिङ्गको सिम्ले र गोरखाको नामजुङ्ग संग जोडीएको बुंकोट घाँटमा बर्सेनी ठुलो एकादशीको बेला मेला लाग्ने गर्दछ ।

Back to top button