
दमौली,
कात्तिक ३० देखि सुरु हुने तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको निर्माण कार्य तिव्र गतिमा अगाडि बढिरहेको छ । महोत्सको ८५ प्रतिशत तयारी पुरा भएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदकी अध्यक्ष एवं महोत्सव मूल समारोहकी संयोजक बसुन्धरा घर्तीले जानकारी दिइन् ।
रमाइलो मेलाको सामग्रीहरु जडान, स्टलको छाना राख्ने काम तिव्रता साथ भइरहेको संयोजक घर्तीले बताइन् । ‘प्रचारप्रसारका व्यानर पमप्लेट टास्ने काम करिब करिब भ्याइएको छ’ उनले भनिन् ‘जिल्ला प्रवेशद्वारको पूर्व मुग्लिन पुल र पश्चिम दुलेगौँडामा व्यानर टाँसेर भ्याइसकेका छौँ, जिल्लाका भिन्न भागहरुमा पनि व्यानर र गेट निर्माण भइसकेको छ ।’
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजना तथा विभिन्न जातीय संगठनहरुको सहआयोजनामा हुने महोत्सवमा विभिन्न प्रतियोगिताहरु हुने बताइएको छ । महोत्सव अवधिमै दोहोरी गीत प्रतियोगिता, व्याडमिन्टन र कराते प्रतियोगिता हुने भएको परिषदका सचिव एवं महोत्सवका प्रवक्ता नन्दु थापा मगरले बताए । “अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ ! भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ” भन्ने नाराका साथ गर्न लागिएको महोत्सवको सभामुख कृष्ण बहादुर महराले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता थापाले जानकारी दिए ।
महोत्सवबाट हुने मूनाफाले आदिवासी जनजातिको जीवन्त संग्राहलय बनाउने मुख्य उद्देश्य आयोजकले लिएको छ । महोत्सव मार्फत् जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने बताइएको छ ।
महोत्सवमा सांस्कृतिक प्रर्दशनी, सांसकृतिक नमूना ग्राम भ्रमण, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलबिहार गर्ने व्यवस्था गरिएको बताइएको छ । महोत्सवमा विभिन्न आदिवासी जनजातिका खाना, आदिवासी जानकारीका स्टल, आदिवासी जनजाति सम्बन्धि पुस्तक प्रदर्शनी, कृषि उत्पादनका विक्री तथा प्रर्दशनका स्टल, विभिन्न व्यापारीक सामग्रीका प्रदर्शनी एवं विक्री कक्ष, कम्युटर, सञ्चार एवं शैक्षिक प्रदर्शनी तथा विक्री कक्ष लगायतका गरी २३० स्टल रहेछन् ।
महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ । महोत्सवमा गायक पशुपति शर्मा, बद्री पंगेनी, बिमाकुमारी दुरा, मेलिना राई, प्रिती आले, रामजी खाँड लगायतका चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ ।