व्यवसायीहरु र महोत्सव आयोजक विच भएको विवाद सल्टियाे

दमौली- १८, कात्तिक
दमौलीका व्यवसायीहरु र महोत्सव आयोजक विच भएको विवाद सल्टिएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको संयोजकत्वमा आइतबार जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकले विवाद सल्टिएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्ती, तउवा संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ लगायत आवद्ध संस्थाका पदाधिकारीहरुको सहभागितामा बैठक बसेको थियो ।
बैठकले महोत्सव तयारी अवस्थामा पुगिसकेकाले महोत्सव नरोकेर समझदारी पूर्वक सहयोग गर्ने मौखिक सम्झौता भएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका सचिव एवं महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए । उनले तनहुँ उद्योग वाणिज्य संघ र तउवा संघ दमौली बजार इकाई महोत्सव सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने बैठकमा प्रतिवद्धता जनाएको बताए ।
मेला महोत्सवले गर्दा व्यवसायमा नोक्सानी वेहोर्नुपर्ने भन्दै व्यवसायीहरुले गत शुक्रबार विरोध गर्दै दमौली बजारका व्यापारीक क्षेत्रहरु बन्द गराएका थिए ।
मेला महोत्सवको विरुद्धमा दमौली बजारका व्यवसायीहरु शुक्रबार ६ देखि ११ बजेसम्म व्यापारीक क्षेत्र बन्द गर्ने भनिए तापनि पछि माइकिङ्ग गर्दै तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले नेतृत्व लिएको थियो ।

Back to top button