बिद्युत लाईन काटेर रु २३ लाख असुली

बिद्युत चुहावट नियन्त्रणमा उल्लेख्य सुधार

तनहुँ समाचारदाता

दमौली , कात्तिक १८ गते । नेपाल बिद्युत प्राधिकरण तनहुँ बितरण केन्द्रले  बिद्युत चुहावटमा  झण्डै तीन गुनाले कमी ल्याउन सफल भएको छ  । गत वर्ष साउनमा २४दशमल ८८% बिद्युत चुहावट रहेकोमा यो वर्षको असोज महिनामा  ८.३०% मा झार्न सफल भएको तनहुँ वितरण केन्द्रका प्रमुख शिवनाराएण गोशलीले जानकारी दिनु भयो । केन्द्र प्रमुख जोशीका अनुसार  ठुला उद्योग जडान भएका टि.ओ.डी मिटरमा नियमित डाटा डाउनलोड गर्ने गरिएको र छुट भएको युनिट छुट बिलिङ्ग बापत असुल गरिएको कारणले पनि चुहावट घटेको हो ।

केन्द्रका अनुसार अघिल्लो आ.ब. ०७४/०७५ को समग्र बिद्युत चुहावट १६दशमलव ६७% थियो भने यो आ.ब. २०७५÷०७६ आश्विन महिना सम्मको समग्र बिद्युत चुहावट ११.१५% रहेको छ । नेपाल बिद्युत प्राधिकरणको समग्र बिद्युत चुहावट आ.ब. ०७२/०७३ मा २५.७८% आ.ब. ०७३÷०७४ मा २२.९% र गत आ.ब.०७४/०७५ मा २०.४५% रहेको थियो । यस हिसावले तनहुँ बितरण केन्द्रले चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गरेको देखिएको छ । ग्राहकबाट १९ लाख ७३ हजार २ रुपैयाँ असुलिएको छ भने करिव ५० लाख बरावरको छुट युनिट स्वीकृत हुने प्रक्रियामा रहेको  केन्द्रले जनाएको छ । बितरण केन्द्रले लामो समय देखि सामुदायिक संस्थामा बिग्रेको मिटर फेर्ने डाटा डाउनलोड गरि अध्ययन गर्ने र सम्भव भएका एकमुष्ट ग्राहकको एउटै एच. टि. मिटर राखि मिटरिङ्ग गरिएको छ । यसले गर्दा नियमित महशुल भन्दा करिव एक तिहाईले मासिक खपत बृद्धि देखिएको केन्द्र प्रमुख गोशलीले जानकारी दिनु भयो ।

गोशलीका अनुसार बितरण केन्द्रले लामो समयदेखि बिग्रेका मिटर बदली गर्ने अभियान नै चलाएको छ । हालसम्म यस्ता बिग्रेका करिव २५० भन्दा बढि ग्राहकको मिटर बदलेको छ । यसले गर्दा नियमित महशुल संकलन पनि बृद्घि भएको छ । यस्ता मिटर बन्दबाट करिब रु १० लाख बराबरको छुट बिलिङ्ग बापत असुल गरिएको छ । यस आ.ब. ०७५/०७६ मा यस्ता १ हजार  थान मिटर बदली गर्ने योजना बनाएको छ ।

बितरण केन्द्रले चुहावट नियन्त्रणको लागि पनि अभियान नै चलाएको छ । यस अन्तर्गत ३९ जना ग्राहकलाई कारवाही गरिएको छ र करिव रु २ लाख भन्दा बढि जरिवाना असुल गरिएको छ । यस्ता चोरी गर्ने ग्राहकहरुलाई नियमानुसार जरिवाना लगाई कारवाही गर्ने गरिएको छ । मिटर वाईपास गर्ने, मिटरमा पुरा खपत हुन नदिन मिटरमा अन्य बस्तु प्रयोग गर्ने, डाईरेक्ट हुकिङ्ग गर्ने, स्वीकृत क्षमता भन्दा बढि क्षमताको एम.सि.बि. प्रयोग गनर्,े मिटरको सिल तोड्ने÷ बिगार्ने लाई कारवाही गर्ने गरिएको केन्द्र प्रमुख गोशलीले जानकारी दिनु भयो ।

बिद्युत लाईन काटेर रु २३ लाख असुली

यसैबीच नेपाल बिद्युत प्राधिकरण तनहुँ बितरण केन्द्रले बिद्युत लाईन महशुल नतिर्ने ग्राहकको लाईन काट्ने अभियान नै चलाएको छ । बिद्युत महशुल नतिर्ने ग्राहकलाई पटक पटक सार्वजनिक सुचना गर्दा पनि अटेर गरेकोले बिनियमावली अनुसार जुनसुकै बेला लाईन काट्न थालेको छ ।

यस आ.ब.०७५/०७६ मा बिद्युत महशुल नबुझाउने २ सय ३३ ग्राहकको  लाईन काटेर रु २३ लाख १४ हजार ७ सय ८ रुपैया महशुल असुल गरिएको तनहुँ वितरण केन्द्रका प्रमुख शिवनाराएण गोशलीले गोरखापत्रलाई जानकारी दिनु भयो  । केन्द्रका अनुसार प्राधिकरणको बिद्युत महशुल सङ्कलन बिनियमावली २०७३ को दफा ८ अनुसार मिटर रिडिङ्ग गरेको ७ औ दिन भित्र महशुल बुझाउने ग्राहकलाई बिल रकमको  दुई प्रतिशत छुट दिईनेछ । मिटर रिडिङ्ग गरेको ८ औ दिन देखि २२ औ दिनभित्र बिल अनुसारको महशुल लाग्नेछ । मिटर रिडिङ्ग गरेको २३ औ दिनदेखि ३० औ दिनसम्म बिद्युत महशुल बुझाएमा ५% थप दस्तुर लाग्नेछ । यस्तै ३१ औ दिनदेखि ४० औ दिनसम्म बिद्युत महशुल बुझाएमा १०% थप दस्तुर लाग्नेछ । मिटर रिडिङ्ग गरेको ४१ औ दिन देखि माथी बिद्युत महशुल बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्नेछ । यस्तै बिनियमावलीको दफा १० अनुसार मिटर रिडिङ्ग गरेको ६० औ दिनसम्म बिद्युत महशुल नबुझाएमा बिना सुचना जुनसुकै समयमा पनि बिद्युत लाईन काटिनेछ ।

Back to top button