सरकार जनताको समस्या प्रति गैर जिम्मेवार बन्यो

अमरराज नहर्की
तनहुँ , कात्तिक १६ गते ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य शङकर भण्डारीले सरकार जनताको समस्या प्रति जिम्मेवार हुन नसकेको बताउनु भएको छ । नेपाली कांग्रेस तनहुँद्वारा शुक्रबार विपि स्मृति भवन दमौलीमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेता भण्डारीले समृद्ध नेपाल सुखी नेपाली भन्ने कुरा नारामा मात्रै सिमित भएको बताउनु भयो । झण्डै दुई तिहाईको बहुमत भएकोले सरकार बलियो भएको तर कमजोर भएर काम गरिरहेको आरोप लगाउनु भयो ।
सत्तासीन राजनीतक दलका प्रधानमन्त्री, मन्त्रीहरुले भाषणमा नभई व्यवहारीक रुपमै विकास भएको महशुस दिलाउन सक्नुपर्ने उहाँको भनाई थियो । ‘तीन तहको सरकार निर्माण हुनुले अब देश आर्थिक समृद्धितर्फ अगाडि बढेको छ, तर अझैसम्म पनि जनताले सुखको आभास गर्न सकेका छैनन्, धेरै जनताहरु उत्पिडनमा रहेको भण्डारीले बताउनु भयो । समृद्धिका कार्यहरुमा सत्तासीन दल र नेपाली कांग्रेसको समेत चासो विषय बनाएर अगाडि बढ्नुपर्छ र जनतालाई समृद्धीका आभास दिलाउन सक्नु पर्ने भण्डारीको भनाई रहेको छ ।
३ करोड नेपालीको विश्वास जितेर पनि देशका जनतालाई समृद्ध बनाउन नसकेको उनको आरोप छ । छिमेकी जिल्लाहरु तनहुँ, लमजुङ्ग, गोरखा सम्भावित आधारभूत पूर्वाधारहरु भएकाले यसको विकास गर्न सम्पूर्ण राजनीतिक दलहरु एक हुन जरुरी रहेको नेता भण्डारीले बताउनु भयो । महिला तथा बालिकाहरुमाथि हरेक दिन हुने गरेका बलात्कार, हत्या, हिंसा जस्ता अपराधिक गतिविधि बढिरहेको बताउदै यस्ता अपराधिक गतिविधि रोकथाममा समेत राजनीति गर्न नहुने भण्डारीले बताउनु भयो ।
सोझा साझा जनतासँग भाषणमा गरिएका प्रतिवद्धता पनि पुरा गर्नतर्फ सरकार र सत्तासीन दल सचेत हुनुपर्ने उल्लेख गर्दै हिमाल, पहाड र तराईका गरीव तथा विपन्न जनताको स्तरोन्नती गर्दै समृद्ध बनाउन सरकार अझै पछि परेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले सरकारले वाइडवडी जहाज भन्दा आन्तरिक आवश्यकताहरु प्राथमिकतामा राखेर पुरा गर्न सक्नुपर्ने बताउनु भयो । युवा नेता भट्टराईले आन्तरिक आवश्यकताहरु पुरा गरेपछि मात्रै जहाज जस्ता विषयहरुले प्रवेश पाउनुपर्ने उनको भनाई थियो । देश र जनतालाई आर्थिक भारमा पार्नु भन्दा पहिले आय बृद्धिका लागि कलकारखाना स्थापना गर्न सके देश र जनतालाई समृद्ध बनाउन सक्ने नेता भट्टराईले बताउनु भयो । ‘हाम्रो देशका जनताको आयआर्जन कम रहेकाले कर तिर्न सक्ने क्षमता छैन, त्यसैले पहिले जनतालाई आत्मनिर्भर बनाउन जरुरी छ, जनताको आयस्तर बृद्धि भएपछि मात्रै कर तिर्न सक्ने हो, कर तिर्न सक्ने जनता बनाउनतर्फ सरकार लाग्न जुरुरी छ,’ उहाँले भन्नु भयो । नेपाललाई समृद्ध बनाउने प्रधानमन्त्रीको विचारलाई व्यवहारमा परिणत गर्न सक्नुपर्ने उहाँको भनाई थियो । नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेको सभापतित्वमा सम्पन्न भएको थियो ।

Back to top button