दृष्टिविहिनका लागी घर बनाउँदै ओडिआरसी, दृष्टिविहिन मुन्द्रेको बन्ने भयो घर

रविन्द्र कंडेल, १३ कार्तिक
गोरखाको पालुङ्टार नगरपालिका वडा नं.७ च्याङ्लीस्थित कालामाटाको थुम्कामा रहेको आफ्नो घर २०७२ को भूकम्पपछि कति क्षति भयो समेत थाहा नपाएर अहिलेसम्म चर्केको घरमै बसेर दिन गुजारीरहनुभयकाे छ   ७१ बर्षे मुन्द्रे कुमाल । भूकम्पको लाभग्राही सूचीमा नाम भए पनि उहाँलाई घर निर्माण गर्न सहयोग गर्ने कोही थिएनन । अहिले नेपाल आवास पुननिर्माण परियोजना (ODRC) ले उनको घर निर्माणमा सहयोग गरेर तारजाली प्रविधिको घर निर्माण गरिदिन लागेको छ । घर निर्माणको काम आधा भइसकेको छ तर उनलाई आफ्नो घर २ कोठाको निर्माण हुन लागेको भने थाहा छ । दृष्टिविहिन कुमालको लागी आवश्यक सामग्रीहरु संस्थाको तर्फबाट जुटाएर काम गरिरहेको परियोजना अन्तर्गत पालुङ्टार क्लष्टर २ का को अर्डिनेटर रघुनाथ रिमालले बताउनुभयो । निर्माणको लागी आवास निर्माण साथीहरुले निशुल्क रुपमा काम गरिरहेका छन । घर निर्माणको लागी वडा कार्यालयले रु.२५००० समेत सहयोग गर्न लागिएको वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार परियोजनाले निशुल्क रुपमा नक्सा बनाइदिनुका साथै प्राविधिक रुपमा समेत सहयोग गरेपछि वडाको पुन निर्माणमा ठूलो टेवा पुगेको छ । घर निर्माण अवधिभर स्थानीय त्रिनेत्र टोलविकास संस्थाले नियमित रुपमा श्रमदान गरिरहेको र निर्माण सम्पन्न नहुँदासम्म सहयोग गर्ने टोलविकासका अध्यक्ष भरत नारायण श्रेष्ठले बताउनुभयो । कुमालकी २ श्रीमती २ छोरा र २ छोरी रहेका छन । जसमध्ये २९ वर्षको जेठो छोरा भारतमा काम गर्न हिंडेका छन भने १२ वर्षको कान्छो छोरा घरमै काम गरेर विताउँछ । १७ बर्षकी जेठी छोरी कोपिला कुमाल साहुको घरमा बसेर काठमाण्डौको शहिद स्मारक कलेजमा कक्षा ११ मा अध्ययन गरिरहेकी छन भने कान्छी छोरी १४ बर्षकै उमेरमा गतसाल विवाह गरिसक्नुभएको छ । कुमालकी जेठी श्रीमती लुती कुमाल समेत दृष्टिविहीन हुनुहुन्छ ।
परियोजनाले यूएनडीपी र ओडिआरसी को समन्वयमा गोरखा जिल्लामा स्थानीय साझेदारी संस्थाका रुपमा पद्दती विकास केन्द्र र स्वाँरा सघन गाउँ विकास केन्द्र मार्फत गोरखा र पालुङ्टार गरी २ नगरपालिका सहित ६ गाउँपालिकाका गरी जिल्लाभरी ४२ वटा वडाहरुमा सामाजिक, प्रशासनिक तथा प्राविधिक सहजीकरणको सेवा प्रदान गर्दै आइरहेको छ । परियोजनाको मुख्य उदेश्य भूकम्प पिडीत लाभग्राहीलाई आफ्नो घर पुन निर्माण गर्न सहजीकरण गरी समुदायलाई परिचालन गरी पुन निर्माण प्रक्रियालाई गति दिनु रहेको परियोजनाले बताएको छ ।
हालसम्म पालुङ्टार नगरपालिकाभरिमा रहेका ८०६५ लाभग्राहीमध्ये ६९७६ जनाले पहिलो किस्ता, ६०८५ जनाले दोश्रो किस्ता र ३६१२ जनाले तेश्रो किस्ता प्राप्त गरिसकेका छन भने ८३६ जनाले सम्झौता गरेर पनि घर निर्माण शुरु गरेका छैनन र १७५ जनाले सम्झौता नै गरेका छैनन । यस नगरपालिका भित्र ५९ जना भूमिहिन रहेको र उनीहरुमध्ये १८ जनालाई जग्गा प्राप्तिको लागी प्रक्रिया अगाडी बढाइएको छ ।

Back to top button