राती १० वजे पछि देउसी–भैलो खेल्न नपाईने

तनहुँ समाचारदाता
दमौली , कात्तिक १३ गते । तनहुँमा राति १० बजेपछि देउसी भैलो नखेल्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक सूचना जारी गर्दै आग्रह गरेको छ । कार्यालयले पर्वलाई मर्यादित , अनुशासित र हर्षोल्लासका साथ मनाउन पनि आहृवान गरेको छ ।
प्रशासनले तिहार र छठमा कुनै पनि आतिसबाजी, पटका, भूइँचम्पाक लगायतको विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण नगर्न आग्रह गरेको छ । त्यसैगरी चाडबाडको बेला लोकमार्गका लाइन होटेलबाहेक अन्य होटेल र मनोरञ्जन व्यवसायसमेत राति १० बजे बन्द गर्न आहृवान गरेको छ । सार्वजनिक सूचनामा जुवा, तास, कौडा, सट्टेबाजी, खडखडे लगायत जुवाजन्य खेल नखेल्न र नखेलाउन, मदिरा र मदिराजन्य बस्तुको बिक्री वितरण राति ९ बजेसम्म मात्र नियमानुसार अनुमति प्राप्त व्यवसायीले मात्रै गर्न अनुरोध गरिएको छ ।
त्यस्तै, तनहुँमा कुनै पनि घटनालाई शीघ्र सम्बोधन गर्न नेपाल प्रहरीको क्यूक रेस्पोन्स टिम र सशस्त्र प्रहरीको इमिडेट रेस्पोन्स टिमको पनि व्यवस्था गरिएको बताइएको छ । यस्तै, कुनै गुनासो, जानकारी वा उजुरी गर्नुपरेमा नेपाल प्रहरीको यात्रु सहायता कक्षा, नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयको प्रहरी कन्ट्रोलको ९५६०९०१७, ०६५–५६०१९९ वा १०० मा र सशस्त्र प्रहरी बलको टोल फ्रि नं. १११४ मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।
स्वीकृति बिना चिठ्ठा, उपहारलगायत कार्यक्रम सञ्चालन नगर्न, मेलारमहोत्सव, प्रदर्शनी आयोजना पूर्व स्वीकृति लिइ तोकिएका सर्त पालना गरी मात्रै सञ्चालन गर्न, होटल, किराना पसललगायतका व्यापारिक प्रतिष्ठानले अनिवार्य रुपमा मूल्य सूची राख्न आग्रह गरेको छ । त्यस्तै, शान्ति सुरक्षा कायम गर्न र उपरोक्त कुराहरुको निगरानी गर्न विशेष चाडपर्व सुरक्षा योजना अनुसार जिल्लाका सबै स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहुँच विस्तार भएको हुँदा लोकमार्गमा हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्न प्रहरीबाट ट्राफिक गस्ती, चेकजाँच, गति सिमितिता, मापसे जाँचलाई अझ तिब्र पारिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनु भयो ।

Back to top button