तनहुँ जलविद्युत आयोजनाको डिसेम्बरबाट निमार्ण चरण शुरु हुने ,मुआब्जा वितरण अन्तिम चरणमा

अमरराज नहर्की
तनहुँ , असोज २७ गते । तनहुँ जलविद्युत आयोजनाको मुआब्जा वितरण कार्य अन्तिम चरणमा पुगेको छ । जलाशयबाट डुवानमा परेका निजी जग्गा अधिग्रहण गरे वापतको मुआब्जाको लागि करीव ७० करोड मध्ये हालसम्म ९० प्रतिशत मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ ।
जलाशयबाट डुवान क्षेत्रमा पर्ने एक हजार दुई सय रोपनी जग्गा आयोजनाले अधिग्रहण गर्नेछ भने बाध निर्माण भएपछि बन्ने आयोजनाको जलाशयले तनहु“को भिमाद, माझकोट, ऋषिङ्ग रानीपोखरी, साभुङ्ग भगवतीपुर, कोटदरबार, जामुने, छाङ र मनपाङ्ग क्षेत्रका जग्गा डुवानमा पर्ने जनाइएको छ । यसका साथै मार्ग तथा निमार्ण कामदारको लागि आवश्यक ५० रोपनी जग्गाको मुआब्जा वितरणको लागि करीव ७ करोड रुपैयाँ हुने र मुआब्जा वितरणको कार्य भईरहेको आयोजनाले जनाएको छ ।
जमिन मुनी विद्युत गृहको निमार्णको लागि सुरुङ खन्ने र फराकिलो पार्ने कार्य पनि भईरहेको छ । यस्तै भूमिगत मार्ग सुरुङद्धारा जलाशयबाट विद्युत गृहमा पानी लगिने भएको छ । यसको लागि सुरुङ खनी राखिएको छ । आयोजनाका अनुसार टेष्ट अडिट(सुरुङ) भित्र भौगर्भिक परिक्षणको लागि कोर ड्रिलिङको काम र परिक्षण कार्य सम्पन्न भएको छ । आयोजनाको विस्तृत ईन्जिनियरिङको काम पनि अन्तिम चरणमा पुगेको छ । दातृ निकायहरुसँग विभिन्न चरणमा वार्ता भई लगानी व्यबस्थापन कार्यमा नेपाल सरकार तथा आयोजना प्राथमिकता साथ लागि परेको अबस्था रहेको छ ।
यो जलाशाय आयोजना १ सय ४० मेगावाट क्षमताको हो । जलाशायको लम्बाई करिब १८ किलो मिटर र पानी भरिदा पानीको अधिकतमा सतह समुन्द्र सतहबाट ४ सय १५ मिटर रहने हुँदा सेती नदीको किनारको करिब ७ सय २६ वर्ग किलो मिटर क्षेत्र जालाशायले ओगट्ने छ । उक्त आयोजना निमार्णको लागि इटालियन निमार्ण कम्पनी सीएमसीसँग ठेक्का सम्झौता तथा पावर हाउस तथा सम्बन्धित उपकरणको लागि चीनको सिनो हाइड्रो कर्पोरेशनसँग सम्झौता भई सकेको छ । दुवै निमार्ण कम्पनीहरुले अग्रिम पेश्कि वापतको रकम प्राप्त गरिसके पछि आगामी डिसेम्बरबाट निर्माण सुरु गर्ने लक्ष्य राखिएको आयोजनाका प्रमुख प्रदीपकुमार थिकेले जानकारी दिनु भयो । थिकेका अनुसार आयोजना २०७९ पुसको दोस्रो साता अर्थात २०२२ को डिसेम्बर अन्तिममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ अर्ब ७७ करोड र त्यसपछि ४८ अर्ब ९९ करोड युनिट उत्पादन हुने छ । बढी विजुली माग हुने हिउ“दमा आयोजनाबाट ६ घण्टा पूर्ण क्षमतामा अर्थात १४० मेगावाट विद्युत प्रवाह हुने जनाईएको छ । ५० करोड ५० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनाकोे ब्याज, प्रसारण लाइन निर्माण र ग्रामिण विद्युतीकरण हुनेछ । आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको ८ करोड ६० लाख, एसियाली विकास बैकको १५ करोड, जापान अन्तराष्ट्रिय सहयोग नियोगको १८ करोड ४० लाख र युरोपेली लगानी बैकको लगानी ८ करोड ५० लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी रहने आयोजनाले जनाएको छ ।

Back to top button