होक्काइदोमा शक्तिशाली भुकम्पको धक्का, पहिरोमा परि घरहरु पुरिए

टोकियो । जापानको होक्काइदोमा प्रारम्भिक ६ दशमलव ७ म्याग्नेच्यूड मापन गरिएको भुकम्प गएको छ । भुकम्पका कारण आत्चुमा तथा आविरा सहरहरुमा विहानै३ बजेर ८ मिनेट जाँदा गएको पहिरो जाँदा धेरै घरहरु पुरिएको र त्यहाँ २० जनाभन्दा बढि हराइरहेको उद्धार टोलीलाई उधृत गर्दै क्योदो न्यूजले समाचार लेखेको छ । १० जनाको हेलिकप्टरमार्फत उद्धार भएको र ४८ जना घाइते रहेको एनएचकेले जनाएको छ । एक ८२ बर्षिय वृद्धको उद्धार गरिएको पनि समाचारमा उल्लेख छ । हजारौंको संख्यामा उद्धारकर्मीहरु परिचालन गरिएको स्थानीय सरकाले जनाएको छ ।

भुकम्पका कारण विद्युत प्रवाह ठप्प छ भने यातायातहरु रोकिएको साथै भुकम्पपश्चातको पहिरोमा परि घरहरु पुरिएको अधिकारीहरुले बताएका छन् । भुकम्पपश्चात ठूलो पराकम्प पनि गएको थियो ।भुकम्पका कारण होक्काइदो इलेक्ट्रिक पावर कम्पनीको सहयाक उर्जा श्रोतसंगको सम्बन्ध विच्छेद हुँदा विद्युत प्रवाह बन्द भएको छ । त्यहाँका ३० लाख घरहरुमा विद्युत सुचारु हुन सकेको छैन भने साप्पोरो क्षेत्रमा टेलिफोन तथा टेलिभिजन समेत नचलेको बताइएको छ । धेरै सहरहरुमा अस्थायी आश्रयस्थलहरु तयार पारिसकिएको बताइएको छ ।

त्यहाँ रहेका परमाणु प्लान्टहरुमा विकिरण स्तरमा कुनै असामान्य गतिविधि नभेटिएकाले विकिरण प्रवाहको कुनै खतरा नरहेको बताइएको छ । दक्षिणी होक्काइदोको लगभग ३७ किलोमिटरको गहिराईमा जापानी भूकम्प तीव्रता स्तर मापन अनुसार ७ मापन गरिएको भुकम्प सन् १९९६ यताकै ठूलो हो । भुकम्पका कारण रेल सेवाहरु पनि अवरुद्ध रहेका छन् ।

Back to top button