सिद्धिविनायक साकोसको वार्षिक साधारणसभा सम्पन्न

चितवन, १४ भदौ । साना व्यवसायी तथा न्यून आयस्तर भएका व्यक्तिको लागि सहकारी बरदान हुने सहकारीकर्मीहरुले बताएका छन् ।
थोरै थोरै रकम संकलन गरेर सहकारीबाट ऋण लिएपछि सफल व्यवसायी बन्न सकिने उदाहरण प्रस्तुत गर्दै सहकारीकर्मीहरुले समृद्धिको लागि सहकारी आवश्यक रहेको बताएका छन् । व्यवसाय सञ्चालन गर्नका लागि पारिवारिक समस्या समाधानका लागि सहकारीको महत्वपूर्ण भूमिका हुनेमा सहकारीकर्मीहरुले जोड दिएका हुन् ।
भरतपुर ३ लायन्सचोकमा रहेको सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारणसभाका क्रममा सहकारीकर्मीहरुले सहकारी अभियानमा सबै नेपाली लाग्नुपर्ने बताए । कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले सहकारी अभियान्ताहरु सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै संघसंस्था सञ्चालन गर्न तत्पर रहेको बताए ।

विगतका दिनहरुमा सहकारी संस्थाको विस्तार र वृद्धिका लागि भूमिका खेलेको उल्लेख गर्दै खड्काले सहकारी नीति, विधि र प्रविधि सहित सुशासनयुक्त हुनुपर्ने र गुणस्तरीयता सुनिश्चितता कायम गर्नसक्नुपर्ने बताए । आठ सय ७२ जना सदस्य रहेको सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १३ करोड ५५ लाख १४ हजार पाँच सय एक रुपैयाँ रहेको छ । बिहीबार भएको वार्षिक साधारणसभका क्रममा संस्थाका सचिव मदन प्रसाद सापकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मुकुन्द गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाका क्रममा जिल्ला सहकारी संघकी सदस्य भगवती पौडेल, उद्योग वाणिज्य संघ चितवनका द्वितीय उपाध्यक्ष चिरन्जीवि सुवेदी, एभरेष्ट साकोसका अध्यक्ष बालगोपाल चुके, चौतारी साकोसका अध्यक्ष रामशरण सिलवाल, अमर साकोसका अध्यक्ष ईश्वरी प्रधानलगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष पुरुषोत्तम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष थीरप्रसाद धितालले स्वागत मन्तव्य राखेका थिए ।

Back to top button