धावनमार्ग लामो नहुँदा ठूला विमान अवतरण गराउन समस्या,यात्रु धेरै भाडा तिरेर यात्रा गर्न बाध्य

चितवन,  २५ साउन । भरतपुर विमानस्थलको धावनमार्ग लामो नहुँदा ठूला विमान अवतरण गराउन समस्या आएको छ । जसका कारण यात्रु धेरै भाडा तिरेर यात्रा गर्न बाध्य छन् ।
२०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दैगएको छ । विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको छ । यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ अवतरण गर्न सकेका छैनन् ।
थोरै यात्रु क्षमताका विमानमा यात्रा गर्नुपर्दा यात्रीले महँगो भाडा तिर्नुपरेको छ । उनीहरूले समयमा टिकट नपाउने समस्यासमेत झेल्दैआएका छन् ।
धावनमार्गको पूर्वतर्फ मापदण्ड विपरीतका संरचना निर्माण भएका कारण हाल रहेको धावनमार्गको पूरै प्रयोग गर्न विमानचालकले सकिरहेका छैनन् । एक हजार दुई सय मिटर लामो धावनमार्गमा एक हजार मिटरमात्रै प्रयोग गर्नुपर्ने बाध्यता रहेको चालकले बताएका छन् ।
यति एयरलाइन्स भरतपुरका प्रबन्धक राजेश सिंहले भन्नुभयो, कम्पनीको ३० सिट क्षमताको जेटस्ट्रिम विमानले धावन मार्ग छोटो भएका कारण २३ जनासम्म यात्रु बोक्दैआएको छ । सिंहले भन्नुभयो, अहिले प्रयोग भइरहेको धावनमार्गको अवतरण क्षेत्रमा बनाइएका संरचनाका कारण पूरै धावनमार्गको प्रयोग हुन नसक्दा समस्या भएको छ ।
विमान कम्पनीलाई नोक्सान हुँदैआएको छ, साना विमानमा थोरै यात्रु बोक्नुपर्दा धेरै उडान गर्नुपर्ने बाध्यता छ, उहाँले भन्नुभयो । बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्त बस्नेतले भन्नुभयो, उच्च तापक्रम र पर्याप्त धावनमार्गको अभावमा क्षमता अनुसारको यात्रु बोक्न कठिन भएको छ ।
बुद्ध एयरलाइन्सले ४७ सिट क्षमताको एटीआर ४२ मार्फत उडान गर्दैआएको छ । ठूला जहाज अवतरण नहुँदा एक दिनमा ११ वटासम्म उडान गर्नुपर्ने बाध्यता रहेको बस्नेतको भनाइ छ ।
काठमाडौँबाट ५० नटिकल माइल दूरीमा रहेको भरतपुर विमानस्थलमा उडान भर्दा यात्रुले रु. तीन हजार सात सय रुपियाँ भाडा तिर्न बाध्य छन् । भरतपुर विमानस्थल कार्यालयका प्रमुख पवनकुमार गौतमले भन्नुभयो, बढ्दो सहरीकरण, हवाईचापमा वृद्धि र पर्याप्त जग्गाको अभावका कारण विमानस्थल साँघुरो बन्दैगएको छ । २०१५ देखि सेवा सुरु गरिए पनि विधिवत् रूपमा २०१८ सालमा तत्कालीन हवाई सेवा विभाग अन्तर्गत भरतपुर हवाई कार्यालय स्थापना भएको हो ।
विमानस्थल साँघुरो बन्दै गएपछि क्षेत्र बढाउन प्रयास भए पनि विस्तारका लागि प्रभावकारी पहल हुन सकेको छैन । विमानस्थल नजिकै नेपाली सेनाको घोडा फार्म रहेको क्षेत्रको माग गरिए पनि सेनाले अनुमति नदिएको गौतमले बताउनुभयो । २०७२ मा सेनासँग जग्गा माग गर्दै पत्र पठाए पनि दिन नसक्ने जानकारी गराएको उहाँले बताउनुभयो ।
विमानस्थलको क्षेत्र बढाउन सेनाको घोडा प्रजनन केन्द्र रहेको ब्यारेक उपयुक्त मानिएको छ । सेनाले सहरबाट २५ किलोमिटर टाढा विमानस्थल राख्न सके राम्रो हुने तर्क राख्दै आफूले प्रयोग गर्दैआएको जमिन दिन नसक्ने जवाफ दिएको गौतमले बताउनुभयो ।
सेनासँग सो ठाउँमा करिब २३ बिघा जमिन छ । सेनाले ठाउँ दिएमा चार सय मिटर धावनमार्ग विस्तार गर्न सकिने गौतम बताउनुहुन्छ । धावनमार्ग विस्तारपछि ७५ सिट क्षमताका विमान अवतरण गराउन सकिने छ । भरतपुर विमानस्थलबाट एकतर्फी रूपमा दैनिक औसतमा ५०० यात्रुले यात्रा गर्दैआएका छन । बुद्ध एयर, यति एयर र सिम्रिक एयरले नियमित उडान भर्दैआएका छन् । यतिको जेट स्ट्रिम र बुद्ध एयरको बीचक्राफ्ट, एटीआर–४२ जस्ता आधुनिक विमानले उडान भर्ने गरेको विमानस्थलका प्रबन्धक गौतमले बताउनुभयो ।
सानो जहाजलाई लक्ष्य गरी बनाइएको विमानस्थलमा विस्तारै मझौला जहाज आउने क्रम बढेको छ । विमानस्थललाई फराकिलो बनाउन पहल नगरे सुरक्षा खतरा निम्तिने गौतमको भनाइ छ । अग्ला घरका रकाण विमान अवतरण र उडान प्रभावित हुँदैआएको छ । अग्ला घरकै कारण विमानले पूरा धावनमार्ग प्रयोग गर्न पाएका छैनन् ।

Back to top button