पुल बन्यो बाटो बनेन

गोरखाको च्याङ्ली (पालुङ्टार ७) र तनहुँको नयाँपुल जोडने पक्की पुल बनेर ठूला सवारी साधनहरु आवत जावत गर्न थालेपनि बाटोको समस्याका कारण कठिनाई भएको छ । साना सवारी साधनहरु मात्र आउने गरेको कच्ची सडकमा ठूला सवारी साधनहरु आउँदा बाटो दब्ने, गाडी फस्ने लगायतका समस्याहरु देखिन थालेका छन । करोडौंको लगानीमा यत्रो पुल बन्दासमेत १ इन्च बाटो पिच वा ढलान केही नहुनु दुखद हो भन्नुहुन्छ वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ । सो स्थानबाट उक्त पुल निर्माणकार्य सम्पन्न भएसंगै नगरपालिका वडा नं. ७ च्याङ्लीसहित धुवाँकोट, गाइखुर, मिरकोट लगायतका क्षेत्रहरुमा विकासको बाटो खुल्ला भएको स्थानीयहरु बताउँछन् ।

पुल निर्माणको लागी सपना निर्माण सेवाले २०६९ साल असार २८ गते सम्झौता गरेको थियो भने स्थानीय रुपमा विवाद आएपछि काम रोकिएको थियो । पछि २०७२ जेठ ३० गतेबाट काम शुरु गरी निर्धारित समय अर्थात २०७५ असार मसान्त मै काम सकिएको निर्माण कम्पनीका इन्जिनियर बर्तौलाले बताउनुभयो । ६०मिटर स्टिल ट्रस र ४० मिटर आ.सि.सी. गरी बनाइएको यस कम्पोजिट व्रिजको क्षमता २ सय पचास टन रहेको समेत इन्जिनियर बर्तौलाले बताउनुभयो ।

सडक डिभिजन कार्यालय दमौलीको ठेक्कामा पुल निर्माण सम्पन्न भएको हो । नेपाल सरकारको कूल १४ करोड ९५ लाख लागतमा पुल निर्माण भएको छ भने पुलको कुनै पनि भागमा कत्ति पनि पिच वा ढलान छैन । पुलबाट ठूला सवारी साधनहरु प्रवेश गरिरहेका छन तर बाटोको स्तरोन्नती तर्फ कसैको ध्यान नगएको स्थानीयहरु बताउँछन । नयाँपुलदेखि बिरुवाटारसम्मको बाटो साँघुरो तथा ठूला सवारी साधन धान्न सक्ने खालको छैन भने वडा कार्यालय रहेको बिरुवाटार बजार क्षेत्र वरपरबाट भने साधनहरु प्रवेश गर्न समेत कठिन रहेको छ । बिकासको ढोकाको रुपमा लिइएको सो पुल अविशाप बन्न नदिन सबैले बेलैमा ध्यान पुर्याउन जरुरी देखिन्छ ।

Back to top button