पालुङ्टार ७ मा बैंक नहुँदा जनतालाई सास्ती, छिटै प्रहरी चौकी स्थापना गर्न पहल

गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा बैंक तथा कुनै वित्तीय संस्थाहरु नहुँदा जनताहरुलाई सास्ती भइरहेको छ । यस वडाका बासिन्दाहरु कुनै पनि आर्थिक क्रियाकलापको लागी नजीकको डुम्रे बजार जानुपर्ने बाध्यता रहेको छ । हाल नगरपालिकाले हरेक वडाबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता पनि बैंकबाट नै वितरण गर्न थालिएको छ । जसबाट सामाजिक सुरक्षा भत्ता लिन बुढापाकाहरु समेत डुम्रे पुग्नुपर्दा निकै कठिनाइ भएको बताउँछन । वडामा बैंकहरुलाई शाखा ल्याउन अनुरोध गर्दा सुरक्षाको कारण देखाएर आउन नचाहेको वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभयो । सुरक्षाका अभावका कारण बैंकहरु आउन नमानेपछि आफूहरुले निकै अगाडीदेखि नै वडामा प्रहरी चौकी स्थापनाको लागी धेरै प्रयासहरु गरेको बताउनुभयो । यस वडामा हेर्नको लागी इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट प्रहरी आउनुपर्ने र सीधा बाटो भएर आउनको लागी बाटो ठीक नभएको कारण तनहुँको डुम्रे हुँदै आउनुपर्ने जसका कारण सो क्षेत्रमा प्रहरी सेवा प्रदान गर्न सहज नभएको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी इन्चार्जले बताउनुभयो । उहाँले पनि यस स्थानमा प्रहरी चौकी स्थापना गर्नको लागी पहल गरिरहेको बताउनुभएको छ । साथै वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले पनि निकै पहल गरिरहेको बताउनुभएको छ । आज सो क्षेत्रमा प्रहरी चौकी स्थापनाको लागी स्थलगत अध्ययन गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय गोरखाका एस.पी. , इलाका प्रहरी कार्यालयका प्रमुख लगायतकाको टोली वडा नं. ७ को बिरुवाटारमा पुगी वडाध्यक्ष लगायतका स्थानीय बुद्धिजिबीहरुसँग छलफल गरी फर्केका छन । यस स्थानमा प्रहरी चौकी अपरिहार्य भएको कारण छिटै हाललाई अस्थायी रुपमा प्रहरी चौकी स्थापना गर्ने आश्वासन दिएका छन ।

Back to top button