च्याङ्ली स्पोर्टस क्लबद्धारा खेलमैदान वरपर बृक्षारोपण

पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेको च्याङ्ली स्पोर्टस क्लबले खेलमैदान वरपर बृक्षारोपण गरेको छ । च्याङ्लीको बिरुवाटारमा रहेको फुटबल खेल मैदान वरपर वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा १४ गते साँझ बृक्षारोपण गरिएको हो । बृक्षारोपण कार्यक्रममा च्याङ्ली स्पोर्टस क्लबका अध्यक्ष सन्तोष थापा, स्थानीय बुद्धिजिवीहरु, समाजसेवी, नेपाल पत्रकार महासंघ तनहूँका सदस्य रविन्द्र कंडेल, विभिन्न संघसस्थाका प्रतिनिधीहरु, महिला समूहका अध्यक्ष लगायतकाको उपस्थिति रहेको थियो ।

सो अवसरमा वडाध्यक्ष श्रेष्ले क्लवहरुले खेलकुदलाइ मात्र नहेरी समाजको समग्र पक्षहरुको विकास मा ध्यान दिनुपर्ने बताउनुभएको थियो । बृक्षारोपणसंगै यसको संरक्षणका लागी तारजाली समेत लगाइएको छ । गत वर्ष वडा कार्यालयबाट विनियोजित रकममार्फत सो स्थानमा रहेको फुटबल मैदानलाई व्यवस्थित गर्ने कार्य गरिएको थियो । खेलको विकास विना कुनै पनि क्षेत्रको विकास नहुने हुँदा खेल क्षेत्रमा विकासका साथै सामाजिक कार्य गर्ने उद्धेश्यका साथ स्थापित उक्त क्लवले आगामी दिनहरुमा पनि सामाजिक कार्यहरुमा सहभागी हुँदै जाने र विकृति विसंगतिहरुलाई केलाउँदै अघि बढने क्लबका अध्यक्ष थापाले बताउनुभयो । वडाभित्र छरिएर रहेका सम्पूर्ण क्लबहरुको छाता संगठनको रुपमा उक्त क्लबलाई विकसित गरिएको हो ।

Back to top button