मिठाइ बनाउन पोखरा आएका भारतीय नागरिक ६ दिनदेखि बेपत्ता

पोखरा । एक विवाह कार्यक्रमका लागि दिल्लीदेखि मिठाइ बनाउन पोखरा आएका एक भारतीय नागरिक ६ दिनदेखि बेपत्ता भएका छन् ।

पोखरा ग्रान्ड होटलमा भएको विवाह कार्यक्रममा मिठाइ बनाउन आएका दिल्ली सूलेमान नगर भन्ने ठाउँका ३५ वषर्ीय महेश रौटेला २१ गतेदेखि बेपत्ता भएका हुन् ।जनकपुरका बेहुला र दिल्लीकी बेहुलीबीच पोखरा ग्रान्ड होटलमा भएको वैवाहिक कार्यक्रममा मिठाइ बनाउन उनलाई झिकाइएको थियो । पोखरा आउने क्रममा ड्यामसाइडस्थित फेवातालको पुछार चेकड्यामभन्दा केही तल पौडी खेल्ने क्रममा रौटेला बेपत्ता भएको प्रहरीले बतायो ।

चेकड्यामभन्दा केही तलबाट फेवातालको पानी जमिनमुनि हुँदै पाताले छाँगोतिर सेतीमा मिसिन्छ । उनी बेपत्ता भएलगत्तै विशेष उद्दार टोलीले २/३ दिनसम्म खोजी गर्दा पनि उनको पत्तो नलागेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नवीन कार्कीले बताए ।

असार २१ गते दिउँसो १/२ बजेतिर पौडी खेल्न नजान भन्दाभन्दै पनि गएका रौटेला नफर्केको दिल्लीदेखि सँगै आएको साथीलाई उधृत गर्दै कार्कीले जानकारी दिए ।

महेश हराएपछि दिल्लीदेखि खोजी गर्दै उनको परिवारजन पोखरा आएको प्रहरीले बताएको छ । छोराको पत्तो नलागेपछि २ दिनअघि बुबासहित पोखरा आएका आफन्तजन भारत फर्किन लागेका छन् ।

Back to top button