सिस्नेपानी धाराको पानी पिउन जन्मस्थल पण्डित गाउँ पुगे वरिष्ठ न्यूरोसर्जन देवकोटा

वरिष्ठ न्यूरोसर्जन उपेन्द्र देवकोटा क्यान्सरबाट थलिएपछि आफ्नै जन्मथलो जाने चाहनास्वरुप पालुङ्टार नगरपालिका वडा नं. ४ पण्डित गाउँमा पुर्याइएर फर्काइएको छ ।  आज दिउँसो करीब २ वजे उहाँलाई नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी पण्डितगाउँ पुर्याइएको थियो ।

उहाँका पत्नी तथा ३ छोरीहरु पनि अर्को हेलिकोप्टरमार्फत आएका थिए । घरभन्दा केही माथि हेलिकोप्टर ल्याण्ड गरी करीब २० मिनेटको बाटो स्ट्रेचरमा मेडिकल टोलीसहितका व्यक्तिहरुले बोकेर घर पुर्याइएको थियो । घरमा पुर्याएपछि उहाँले बाल्यकालमा खानेगरेको सिस्नेपानी धाराबाट पानी ल्याएर खुवाइएको थियो ।

करीव १ घण्टासम्म उहाँको आफ्नै घरको पिँडीमा राखिएको थियो । त्यहाँ रहँदासम्म पनि उहाँलाई अस्पतालको आइ.सि.यू.मा उपलब्ध सवै सेवा उपलब्ध गराइएको देखिन्थ्यो । उहाँलाई भेटन उहाँका आफन्तजन तथा शुभचिन्तकहरुको भीड लागेको थियो । बोल्न नसक्ने अवस्थामा रहनुभएका डा.घरको पिडीमा रहँदा बेला बेलामा होसमा आएजस्तो गरी आँखा हेर्दै र बन्द गर्दै गरेको दृश्य देख्न सकिन्थ्यो ।

त्यसपश्चात उहाँलाई घरदेखि केही तलसम्म स्ट्रेचरमा नै बोकेर ल्याई हेलिकोप्टरमार्फत काठमाण्डौ फर्काइयो । उपस्थित भएका आफन्तजन तथा शुभेच्छुकहरुले लगभग अन्तिम अवस्थामा पनि आफ्नो जन्मभूमि आउनुले मातृभूमिप्रतिको अगाध माया र स्नेहको पाठ सिक्नुपर्ने बताइरहेका थिए ।

केहीले भने  उहाँको वाल्यकाल र अमर ज्योति मा.वि., लुईंटेलमा अध्ययन गर्दाका क्षणहरु सम्झिरहेका थिए । पढाइमा सानैदेखि अब्बल दर्जामा रहनुभएका देवकोटा नेपालमा मात्र नभई विश्वजगतमा नै न्यूरोसर्जरीका वरिष्ठ व्यक्तित्व हुनुहुन्छ ।

Back to top button