पालुङ्टार नगरपालिकामा विज्ञ सम्मेलन हुने

पालुङटार नगरपालिकामा जेठ २५ र २६ गते पालुङटारको वडा नं. ५ ठाँटीपोखरीस्थित भवानी क्याम्पसमा पालुङटार सम्मेलन हुने भएको छ । नगरपालिकाले योजना निर्माण तथा मार्गचित्र कोर्ने उद्धेश्यका साथ सम्मेलनको आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रमले नगरपालिकालाई स्मार्टसिटीको रुपमा विकास गर्न महत्वपूर्ण योगदान दिने नगरप्रमुख दिपक बाबु कंडेलले बताउनुभयो । उहाँका अनुसार नगरपालिकामा शैक्षिक, कृषि, पशु, बन लगायतका क्षेत्रको विकास का साथै औद्योगिक क्षेत्र निर्माणका लागी समेत विशेष योजनाका रुपमा राख्ने र यसका लागी आवश्यक पूर्वाधारहरुको समेत अध्ययन गरिने हुँदा नगरको भविष्य निर्माणमा समेत कार्यक्रम फलदायी बन्ने उहाँको दावी छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै गरी कार्यक्रममा २५ गते पूर्व मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका नेता हितराज पाण्डे, नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे, प्रदेश नं. ४ का प्रदेश सभा साँसद हरिशरण आचार्य, संघीय सरकारका समानुपातिक साँसद चुडामणि खडका, डा. कृतिकुशुम जोशी लगायतकाले सम्बोधन गर्ने कार्यक्रम रहेको नगर उपप्रमुख पम्फा बसेलले जानकारी दिनुभयो ।

डा. लक्ष्मी प्रसाद देवकोटा, डा.विनोद तिवारी, इन्जिनियर हरिराम कोइराला, डा. हरि कुमार श्रेष्ठ, डा.रामचन्द्र देवकोटा, औद्योगिक विकास लिमिटेडका नन्दकिसोर बस्नेत, गुणप्रसाद न्यौपाने लगायतकाको प्रस्तुति रहनेछ ।

त्यस्तै गरी २६ गते डा.राजु अधिकारी, हरि रोका, डा.विमल कोइराला, डा. मोदनाथ मरहट्टा, डा. गुणराज लोहनी, मणि लामिछाने, इन्जिनियर सरोज देवकोटा, डा.जिवराज पोखरेल, दिपक पन्त लगायतकाले प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको उपमेयर पम्फा बसेलले बताउनुभयो ।

पालुङटार नगरपालिकामा घर भई विभिन्न स्थानहरुमा रहेका विज्ञहरुलाई बोलाएर गर्न लागिएको यो सम्मेलनले पक्कै पनि नगरपालिकालाई स्मार्ट सिटीको रुपमा अघि बढाउन कोसेढुङ्गा सावित हुनसक्ने जानकारहरु वताउँछन ।

Back to top button