गजल

Kumar Rana

प्राण भन्दा प्यारो लाग्छ मेरो देशको माटो
कान्ला अनि भिर पखेरा घुमाउरो वाटो।

खानु छैन पिज्जा वर्गर जानु छैन विदेश
रमाउछु यै माटोमा खान्छु यही ढिडो आटो।

सयौ जाती फूल हामी फूलवारी नेपालको
हिमाल पहाड तराईमा नआईदियोस् फाटो।

हास्छ हिमाल नाच्छ डाफे लाली गुरास फुल्छ
कति सुन्दर लाग्छ मलाई गैह्री खेतको पाटो।

अमृत सरी पानी वग्छ नागवेली जंगलमा
जन्म दियौ यो स्वर्गमा के दिउ यसको साटो।

Back to top button