उत्तर कोरियाद्वारा सम्पूर्ण क्षेप्यास्त्र परीक्षण स्थगित, विश्वकै लागि सुखद उपलब्धिः ट्रम्प

एजेन्सी, ८ वैशाख ।

उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाको सम्पूर्ण आणविक गतिविधि तत्कालका लागि स्थगित गर्ने घोषणा गरेका छन् । नेता किम जोङ उनले सबै क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने र तत्काल लागू हुने गरी एउटा परीक्षण केन्द्र बन्द गर्ने घोषणा गरेको स्थानीय समाचार संस्था केसीएनएले जनाएको हो ।

‘अप्रिल २१ बाट उत्तर कोरियाले पारमाणविक र अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण बन्द गर्नेछ,’ कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ । केसीएनलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘मुलुकमा शान्ति स्थापना गर्दै आर्थिक वृद्धि हासिल गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।’

नेता किमले आफ्ना दक्षिण कोरियाली समकक्षी मून जे–इनसँग आगामी साता भेटवार्ता गर्ने कार्यक्रम रहेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ । नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि आउँदो जुनमा शिखर वार्ता गर्ने अपेक्षा गरिएको छ ।

क्षेप्यास्त्र परीक्षणहरू बन्द गर्ने किमको घोषणापछि ट्वीट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले यो निर्णय उत्तर कोरिया र विश्वकै लागि सुखद र ठूलो उपलब्धी भएको प्रतिक्रिया दिएका छन् । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरिया निशस्त्रीकरणमा गए उसका लागि उज्यालो बाटो उपलब्ध हुने बताएका थिए ।

Back to top button